नेपाल-भारत सीमा खोल्न आग्रह गर्दै प्रधानमन्त्रीलाई ज्ञापन



जनकपुरधामः नेपाल-भारत सीमा खोल्न आग्रह गर्दै जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ ।

कोरोनाका कारण नेपाल-भारतको सीमा बन्द भएपछि दूबै देशका जनतालाई निकै कठिनाई भइरहेको अवस्थामा सीमा नाका खोल्न आग्रह गर्दै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न संघसंस्थाहरुले ज्ञापनपत्र बुझाएका हुन् ।

कोरोनाका कारण इतिहासमा पहिलो पटक नेपाल भारतको सम्बन्धमा तिक्तता आएको भन्दै यस मुद्दामा नेपाल र भारतको निती निमार्ण गर्ने व्यक्तिहरुको गलत सोंच र दिशानिर्देशनका कारण पछिल्लो केहि महिना देखि दुवैतिरको जनतालाई दुःख भोग्न वाध्य बनाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

नेपाल–भारत खुल्ला सीमा सम्वाद समूहका अध्यक्ष राजीव झाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको संयुक्त टोलीले जिल्ला प्रशासन कार्यालय धनुषा मार्फत् प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा आपत विपतको बेला नेपाल भारतको सीमा बन्द हुँदा भारतबाट आँखाको उपचार गराउन नेपाल आउने र नेपालबाट अन्य रोगको उपचार गराउन भारत जाने विरामीहरु विचल्लीमा परि कयौं व्यक्तिले ज्यान समेत गुमाइसकेको अवस्थामा यसमाथि ध्यान पुर्याउन ज्ञापनपत्र मार्फत सरकारसँग आग्रह गरिएको छ ।

ज्ञापनपत्रमा भारतमा रोजगारी गरिरहेका लाखौं नेपाली कोरोनाको डरले नेपाल आएपनि अब बन्द सिमानाको कारण भारत जान नपाएर दुई छाक खाना जुटाउन साहुकारको ऋणको बोझले झन बढि मार्कामा परेकोप्रति दुःख व्यक्त गरिएको छ ।

नेपाल भारत खुल्ला सीमा सम्वाद समुह, नेपाल उद्योग वाणिज्य महासंघ, प्रदेश २, माँ जानकी यातायात प्रालि, जनकपुरधाम, लोकतान्त्रिक युवा नागरिक समाज, फलफुल व्यवसायी संघ,जनकपुरधाम, धनुषा चेम्बर अफ कमर्स, जनकपुर अञ्चल ग्यास व्यवसायी संघ, जिरोमाइल युवा कमिटी, क्लोथ बैंक नेपाललगायतका संघसंस्थाहरुले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका छन् ।

प्रकाशितः १४ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्