भोलिदेखि खाडीबाट नियमित उडान हुने, दूतावासको सूचीमा भर पर्न नपर्ने




काठमाडौं : खाडीका ४ देशबाट भोलि (बिहिबार) अर्थात अक्टोबर १ देखि नियमित उडान शुरु हुने भएको छ ।

खाडीको देश साउदी, कतार, कुवेत र ओमानबाट भोलिदेखि नियमित उडान हुने भएको हो । नियमित उडान भएपछि यी देशबाट स्वदेश फर्कन चाहने श्रमिकले सिधै टिकट काटेर घर फर्कन सक्ने दूतावासहरुले जनाएको छ ।

भदौ १६ गतेदेखि मलेसिया र यूएईबाट नियमित उडान भए पनि साउदी, कतार कुवेत लगायतका देशमा पीसीआर परीक्षण सहज नभएको भन्दै यी देशबाट फर्कन खोज्ने नेपालीको लागि चार्टर्ड उडान भइरहेको थियो ।

अब पीसीआर परीक्षण गरेर आउने श्रमिक सिधै होम क्वरेण्टीमा जान पाउने छन् भने पीसीआर परीक्षण नगरी आएमा काठमाडौंमा होटल क्वरेण्टीनमा बस्नु पर्नेछ । अब स्वदेश फर्कन सिधै सम्बन्धित एअरलाइन्स कम्पनीमा सम्पर्क गरेर टिकट काटी स्वदेश फर्कन पाइन्छ । चार्टर्ड उडानमा जस्तो दूतावासको सूची अनुसार फर्कनका लागि कुर्न पर्ने छैन ।

भोलिदेखि कतारबाट हिमालय र कतार एअरवेजले दिनमा १, १ उडान भर्दै छन् भने साउदीको रियादबाट, कुवेतको कुवेत सिटीबाट र ओमानबाट पनि नियमित उडान हुनेछ ।

प्रकाशितः १४ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्