असोज २९ देखि भारतमा विद्यालय र कलेज खुल्ने



नयाँ दिल्ली : भारतमा असोज २९ गतेदेखि विद्यालय र कलेज खुल्ने भएका छन् । भारतमा कोरोना महामारीका कारण बन्द भएका विद्यालय र कलेज यही असोज २९ गतेदेखि खुल्ने भएका हुन् ।

भारतीय सञ्चार माध्यमका अनुसार लकडाउनको अन्त्य गर्दै भारतले स्कूल र कलेज पनि खोल्ने निर्णय गरेको हो । तर, शैक्षिक संस्था खोल्ने विषयमा अन्तिम निर्णय भने राज्य र शैक्षिक संस्थाले नै गर्ने बताइएको छ ।

१० वर्ष मुनिका बालबालिका कोरोना संक्रमणको उच्च जोखिममा रहेकाले विद्यालय खोल्ने निर्णय विद्यालयलाई नै दिइएको भारतीय सञ्चार माध्यमले जनाएको छ । केन्द्रले अनलाइन कक्षा र दुरी सिकाई (डिस्ट्यान्स लर्निङ) लाई अझै पनि प्राथमिकता दिइएको र प्रोत्साहन गरिएको जनाएको छ ।

यता भारत सरकारले असोज २९ गतेदेखि सिनेमा हल, मल्टीप्लेक्स, प्रदर्शनी कक्ष र मनोरञ्जन स्थल खोल्ने अनुमति दिएको छ । तर, सिनेमा, थिएटर र मल्टीप्लेक्समा ५० प्रतिशत अर्थात आधा सीट खाली हुनुपर्नेछ । यसका लागि सरकारले छुट्टै निर्देशिका जारी गर्नेछ ।

यस्तै केही सर्तसहित एक सय जनाभन्दा धेरैलाई जमघटको लागि अनुमति दिने सरकारको तयारी छ । तर पनि कोरोना संक्रमितको संख्या बढिरहेको क्षेत्रमा भने कात्तिक १५ गतेसम्म कडा लकडाउन लागु हुनेछ ।

भारतमा हालसम्म ६३ लाख १० हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको वल्र्डोमिटरको तथ्यांकमा उल्लेख छ । जसमा ९८ हजार ७ सयभन्दा बढीको मृत्यु भइसकेको छ भने ५२ लाख ७० हजार भन्दामाथि उपचारपश्चात फर्किसकेका छन् ।

प्रकाशित : असोज १५, २०७७

प्रतिक्रिया दिनुहोस्