आजदेखि नियमित अन्तर्राष्ट्रिय उडान थप



काठमाडौं : सरकारले कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका नेपाली ल्याउन आज (बिहीबार)देखि नियमित उडान थप गरेको छ । नागरिक उड्डयन प्राधिकरणले आजदेखि नियमित उडान थप गरेको जनाएको छ ।

विमान कम्पनीहरुले मागेजति नै उडान स्वीकृत गरिएको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए । नियमित उडानको संख्या थप गरेसँगै सरकारले चार्टर्ड उडान बन्द गरेको छ । मेडिकल सामग्री बाहेकका लागि चार्टर्ड उडान अनुमति नदिइने सरकारको निर्देशन रहेको प्राधिकरणका प्रवक्ता क्षेत्रीले बताए ।

प्राधिकरणले आजदेखि कात्तिक ८ गते सम्मका लागि नियमित उडानको तालिका सार्वजनिक गरेको हो । २४ दिनमा नेपालका लागि १४ विमान कम्पनीले ९९ वटा नियमित अन्तर्राष्ट्रिय उडान भर्नेछन् ।

नेपाल एयरलाइन्सले हप्तामा हङकङबाट २ वटा, दोहाबाट ७, क्वालालाम्पुरबाट ६, दुबईबाट ७ वटा उडान भर्ने छ भने नारिताबाट २ वटा र ग्वान्जाउबाट एउटा उडान गर्ने छ। यसैगरी हिमालयन एयरलाइन्सले दोहा र आबुधावीबाट हरेक हप्ता ७–७ वटा उडान भर्ने छ ।

फ्लाई दुबई र हिमालयन एयरलाइन्सले यी तीनवटै ठाउँबाट हरेक दिन उडान गर्नेछन् । यसैगरी हिमालयनले क्वालालाम्पुरबाट हप्ताको पाँच दिन पाँचवटा उडान भर्ने भएको छ ।

कुवेतबाट जजिरा एयरलाइन्सले हप्तामा सात वटा उडान भर्ने छ भने कोरियन एयरले सोलबाट हप्ताको चार दिन चारवटा उडान र एयर अरेबियाले शारजहाँबाट सात वटा उडान भर्ने छ।

प्रकाशित : असोज १५, २०७७

प्रतिक्रिया दिनुहोस्