नेपाल पहिलाे खेलमा अाज माल्दिभ्ससँग भिड्दै



काठमाडाैं : साफ यु–१५ च्याम्पियनसिप बिहीबार (आज) बाट काठमाडौंमा सुरु हुँदै छ । नेपालले पहिलो खेलमा आज माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। खेल सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा दिउँसो ३ बजेबाट सुरु हुनेछ।

 

नेपालका प्रशिक्षक सनोज श्रेष्ठले बुधबार माल्दिभ्सको सामना गर्दा सुखद नतिजाका  साथ साफ यु–१५ च्याम्पियनसिपको सुरुआत गर्ने बताएका छन्। कार्तिक १७ सम्म सञ्चालन हुने प्रतियोगितामा आयोजक नेपालसहित माल्दिभ्स, बंगलादेश, पाकिस्तान, भुटान र भारतको सहभागिता रहनेछ।

 

एन्फाले दुई साताअघि प्रतियोगिताका लागि २३ सदस्यीय टोलीको घोषणा गरेको थियो। यसका लागि एन्फाले एकेडेमीमा रहेका २६ र विभिन्न जिल्लाबाट छनोट भएका ४५ खेलाडीलाई समावेश गर्दै संयुक्त रूपमा प्रशिक्षण गराएको थियो।

 

उक्त प्रशिक्षणबाट एकेडेमीका १९ र विभिन्न जिल्लाबाट आएका ५ खेलाडी अन्तिम टोलीमा स्थान बनाउन सफल भएका थिए। नेपाली टोलीका सहायक प्रशिक्षक राकेश श्रेष्ठ र गोलकिपिङ प्रशिक्षकमा मनीष तिमल्सिना छन् ।

प्रतिक्रिया दिनुहोस्