उपत्यकामा आजदेखि तीनवटा घुम्तीसहित ११ वटा सुपथ मूल्य पसल सञ्चालन



काठमाडौं : सरकारले आज (बिहीबार) देखि चाडपर्वलाई लक्षित गरि सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले परम्परालाई निरन्तरता दिँदै छठको भोलिपल्टसम्म सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो ।खाद्य

व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनका देशभर रहेका कार्यालय, डिपो र डिलर तथा घुम्ती सेवामार्फत सुपथ मूल्य पसल शुरु हुने आपूर्ति मन्त्रालयले जनाएको छ ।

अनलाइन अर्डरमार्फत पनि सुपथ मूल्य पसलका सामग्री खरिद गर्न सकिनेछ । काठमाडौँ उपत्यकामा १६ सथानसहित देशका अरू मुख्य सहरमा गरी ६५ वटा सहुलियत पसल सञ्चालन हुने मन्त्रालयले जनाएको छ । सहुलियत पसल आउँदो मंसिर ६ सम्म सञ्चालन गरिने छ ।

एकीकृत सहुलियत पसलमा चामलमा प्रतिकिलो पाँच रुपैयाँ, नुनमा प्रतिकिलो दुई रुपैयाँ, वासमती चामल, गेडागुडी वा कर्णालीको सिमीमा प्रतिकिलो १० रुपैयाँ छुट पाइने छ भने चिनीमा प्रतिकेजी पाँच रुपियाँ छुट पाइने छ । त्यसतै च्याङ्ग्रा र खसीबोकामा जिउँदो मूल्यमा प्रतिकिलो १० रुपैयाँ छुट दिइने मन्त्रालयले जनाएको छ ।

डीडीसी घिउमा प्रतिलिटर ३० रुपियाँ छुट दिने भएको छ । मन्त्रालयका अनुसार उपत्यकामा सिंहदरबार, टेकु, कालीमाटी, कोटेश्वर, सतुङ्गल, ललितपुर, भक्तपुरलगायत ठाउँमा सहुलियत पसल हुने छन् ।

त्यसैगरी साल्ट ट्रेडिङले काठमाडौँ उपत्यकामा तीनवटा घुम्तीसहित ११ वटा पसल सञ्चालन गर्नेछ भने उपत्यकाबाहिर बनेपा, बिर्तामोड, विराटनगर, राजविराज, लहानलगायतका सहरमा २४ वटा पसल सञ्चालन गर्नेछ ।

प्रकाशित : असोज १५, २०७७

प्रतिक्रिया दिनुहोस्