ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवन सुनिश्चित गर्नु हाम्रो कर्तव्य हो : राष्ट्रपति



काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकहरुको दीर्घायू, सुस्वास्थ्य, सुख, शान्ति र सम्मानित जीवनको लागि हार्दिक शुभकामना व्यक्त गरेकी छन् ।

३० औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा उनले ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई ग्रहण गर्दै नयाँ पुस्ता मुलुकको समृद्धि हासिल गर्नेतर्फ उन्मुख हुनेमा विश्वस्त रहेको बताएकी छन् ।

ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षा प्रदान गर्न नेपालको संविधानले गरेको मौलिक हकको व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्ने दिशातर्फ नेपाल सरकार अग्रसर रहेको समेत उल्लेख गरेकी छन् ।

‘हाम्रो सांस्कृतिक परम्परा र पारिवारिक मूल्यको एउटा मुख्य विशेषता ‘मातृदेवो भवः, पितृ देवो भवः’को भावना पनि हो,’ राष्ट्रपति भण्डारीले दिएको शुभकामना सन्देशमा भनिएको छ–‘ सामाजिक दायित्वप्रति संवेदनशील यस्ता मौलिक मान्यतालाई आत्मसात गर्दै बदलिँदो परिवेशमा ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवन सुनिश्चित गर्नु हामी सबैको कर्तव्य हो। यसर्थ, आआफ्नो स्थानबाट ज्येष्ठ नागरिकहरूलाई दिनुपर्ने सम्मान र सहयोग पु¥याउन म सबैमा आव्हान गर्दछु ।’

परिवारको लालनपालनसहित जीवनको अधिकांश समय विभिन्न क्षेत्रमा क्रियाशील रही आफ्नो ज्ञान, सिप र अनुभवलाई प्रयोग गरेर समाज सुधार र राष्ट्रोत्थानमा ज्येष्ठ नागरिकहरूले पु¥याउनु भएको योगदानको उच्च मूल्याङ्कन गरेको जारी शुभकामना सन्देशमा उल्लेख छ ।

‘ज्येष्ठ नागरिकको सम्मान र सुरक्षाका लागि विक्रम सम्बत् २०५१ सालदेखि सुरु गरिएको ज्येष्ठ नागरिक भत्ता यस सन्दर्भमा एउटा कोसेढुङ्गाको रूपमा रहेको छ, जसले आजसम्म निरन्तरता पाएको छ। सामाजिक सुरक्षाको दायरालाई क्रमशः फराकिलो बनाउँदै सरकारद्वारा स्वास्थ्य बीमा कार्यक्रम समेत लागु गरिएको छ,’राष्ट्रपति भण्डारीले दिएको शुभकामना सन्देशमा भनिएको छ, ‘यी कदमहरूले ज्येष्ठ नागरिकप्रति राज्य, समाज र परिवारको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन र उहाँहरूको आत्मसम्मान वृद्धि गर्न योगदान पुगेको छ भन्ने मेरो विश्वास रहेको छ। ज्येष्ठ नागरिक लक्षित कार्यक्रमहरूलाई जीवनोपयोगी बनाई थप विस्तार गर्दै लैजान म सम्बद्ध पक्षको ध्यानाकर्षण गर्दछु ।’

सन् १९९१ देखि हरेक वर्ष अक्टोबर १ तारिखलाई ज्येष्ठ नागरिकहरूलाई सम्मान र अधिकारमा पहुँच पु¥याउने उद्देश्यका साथ संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने गरिन्छ ।

प्रकाशित : असोज १५, २०७७

प्रतिक्रिया दिनुहोस्