घट्यो कोरोना सक्रिय सङ्क्रमित



डोटी : जिल्लामा पछिल्लो समय सक्रिय सङ्क्रमितको सङ्ख्या कम हुँदै गएको छ । हालसम्म कोरोना सङ्क्रमित भएका कुल एक हजार ८५ जनामध्ये ९५२ जना निको भएर घर फर्किसकेका छन् । अब जिल्लामा १३३ जना मात्रै सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

चौध दिन आइसोलेसनमा राखेर उपचार गरी पुनःपरीक्षण गर्दा कोरोना सङ्क्रमण नेगेटिभ देखिएका सङ्क्रमितलाई घर पठाउने गरिएको छ । सङ्क्रमण भएको दश दिनपछि कोरोना सङ्क्रमित भएका व्यक्तिले अरु व्यक्तिमा नसार्ने भएकाले यहाँका सङ्क्रमित व्यक्तिले समुदायमा कोरोना सार्न नसकेको जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा।प्रकाश ठकुल्लाले जानकारी दिए ।

सङ्क्रमित सङ्ख्या बढे पनि कोरोना निको भएर जाने बढेको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार बुधबारसम्म जिल्लाका नौ वटै स्थानीय तहबाट ३१७ महिला र ६३५ पुरुष गरी कुल ९५२ जना सङ्क्रमण निको भएर घर फर्किएका छन् ।

नौ स्थानीय तहमध्ये सबैभन्दा बढी सङ्क्रमित शिखर नगरपालिकामा देखिएका छन् । उक्त नगरपालिकामा कूल ३०६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये १८६ जना पुरुष र ११० महिला गरी कूल २९६ जना निको भएका छन् । एक महिला र ९ पुरुष गरी १० जनामा अझै सक्रिय सङ्क्रमण देखिएको नगरपालिका स्वास्थ्य संयोजक हरिष शाहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्