रौतहटको प्रहरी हिरासतमा रहेकी महिलाको मृत्यु



रौतहट : जिल्लाको गरुडास्थित इलाका प्रहरी कार्यालयको हिरासतमा एक महिलाको मृत्यु भएको छ ।

बिहीबार बिहान इलाका प्रहरी कार्यालको महिला सेलको हिरासतमा गुजरा नगरपालिका–२ कटानी बजारकी राधिका राउत मृत अवस्थामा भेटिएकी हुन् ।

कटानी बजारका एक युवकसँग शारीरिक सम्बन्ध राखेको भन्दै उनकै श्रीमान सुमन राउतले बुधबार साँझ वडाअध्यक्षको रोहवरमा राधिकालाई प्रहरीको जिम्मा लगाएका थिए ।

प्रहरीले दुबैलाई निन्यत्रणमा लिएर स्वास्थ्य जाँच गराएको थियो । हिरासतमा रहेकी महिलाको मृत्युको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी भरत श्रेष्ठले बताए ।

प्रहरीका अनुसार ती महिला छारे रोगको बिरामी रहेको र लामो समयदेखि औषधि सेवन गरिरहेकी थिइन् । हिरासतमा हुँदा पनि उनलाई छारे रोगले च्यापेर दुई पटक बेहोस भएको प्रहरीको भनाइ छ ।

राधिकाका श्रीमानले पनि आफ्नी पत्नीमा छारे रोगको समस्या रहेको बताएको प्रहरीको भनाइ छ ।

प्रकाशित : असोज १५, २०७७

प्रतिक्रिया दिनुहोस्