‘जनताका समस्याप्रति सरकार संवेदनशील भएन’



चित्रलेखा यादव नेपाली काँग्रेसका सुपरिचित महिला नेतृ हुनुहुन्छ । विद्यार्थी समयदेखि नै राजनीतिमा सक्रिय यादवले विभिन्न समयमा विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालिसक्नुभएको छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन सत्ता कब्जा गरेपछि तत्कालीन संसदको उपसभामुख रहनुभएका यादव शाहीशासनविरुद्ध लोकतन्त्र स्थापनाको मागसहित भएको सडक आन्दोलनमा सडक संसदको सभामुखको भूमिका निर्वाह गर्नुभएको थियो । लामो राजनीतिक अनुभव सँगाल्नुभएका यादवसँग काँग्रेसभित्र उत्पन्न आन्तरिक विवाद, वर्तमान सरकार र विभिन्न सामयिक राजनीतिका विषयमा द नेपालटपकी संवाददाता आशा साहले कुराकानी गर्नुभएको थियो । प्रस्तुत छ उहाँसँग गरिएको कुराकानीको सम्पादित अंश :

नेपाली काँग्रेसमा महाधिवेशन नजिकिनेसँगै आन्तरिक विवाद उत्कर्षमा पुगेको छ ? काँग्रेस किन एक ढिक्का हुन सकिरहेको छैन ?
– विवादहरुभन्दा पनि नेपाली काँग्रेस भनेको लोकतान्त्रिक पार्टी हो । लोकतान्त्रिक पार्टीको प्राण भनेकै फरक विचारहरुमा हुन्छ । विभिन्न विचार आउँछन् । विचारहरु आउनु राम्रो कुरा हो । विचार नआए सबै कुरा बन्द हुन्छ । त्यसकारण विभिन्न विचार छन् । यसलाई विवाद भन्न मिल्दैन । र महाधिवेशन नजिकिदँै गरेको कुरा हामी सबैलाई थाहा छ । तर, अहिले कोरोना महामारीले गर्दा उत्पन्न देशको विषम परिस्थितिमा महाधिवेशनकै बारे यसलाई कहिले सम्पन्न गर्ने, कसरी गर्ने एउटा बहस पनि चलिरहेको छ ।

त्यसो भए तोकिएकै समयमा महाधिवेशन हुन सक्दैन ?
– यस विषयमा पनि धेरै खालका विचार आइरहेका छन् । वैकल्पिक उपायहरु पनि आएका छन् । यही १९ गते केन्द्रीय कार्यसमितिको बैठक छ । सम्भवतः त्यो बैठकले पनि यसबारे केही निर्णय लिनुपर्ने जस्तो देखिन्छ ।

आन्तरिक विवादका कारण काँग्रेस कमजोर हुँदै गएको छ, संघीय संसदमा पनि प्रमुख प्रतिपक्षीको भूमिका कमजोर रह्यो नि ? इतिहासकै कमजोर अवस्थामा काँग्रेस पुगेको हो त ?
– बाहिर यस्ता खालका टिकाटिप्पणी हुने गरेका छन् । तर मलाई के लाग्दछ भने काँग्रेस आफ्नो स्थापनाकालदेखि आजको दिनसम्म लोकतन्त्रका लागि लड्दै आएको छ । लोकतन्त्रको आत्मा भनेकै कानुनी राज्य हो । कानुनी राज्यको परिपालना हामीले गर्दै आएका छौ । संघीय संसदभित्र काँग्रेसको भूमिका कमजोर होइन, तर हाम्रो बानी कस्तो छ भने हामी संख्याको आधारमा काँग्रेसको संख्या कम छ, त्यसैले काँग्रेसको भूमिका देखिएन भन्ने खालको चर्चा छ । तर, काँग्रेसले अत्यन्तै जिम्मेवारीपूर्वक संसदभित्र सशक्त भूमिका निर्वाह गरेको छ ।

संसदमा प्रतिपक्षको भूमिका र प्रतिपक्षलाई दिनुपर्ने समयका बारेमा नेपालमा हामी त्यति प्रस्ट छैनौ । यसकारणले गर्दा काँग्रेसको संख्याको कुरा गर्ने हो भने हाम्रो त्यति उत्साहजनक संख्या छैन । संसदमा कस्तो व्यवस्था छ भने सांसदको आधारमा हामीले बोल्ने समय पाउँछौ । त्यसकारण प्रतिपक्षले जति कुरा राख्न पाउनुपर्ने हो त्यो अनुसारको व्यवस्थापन हुन सकेको छैन । तर, भूमिका कमजोर होइन ।

संसदमा मात्र प्रतिपक्षको भूमिका देखेर हुन्छ ? बाहिरी समाजमा पनि भूमिका देखिनुपर्यो नि ?
– समाजमा पनि देखिएको छ । अर्को एउटा सशक्तकहाँ निर देखिन्छ भने–प्रत्येक विषयमा प्रतिपक्षले अब सडक नै तताउनुपर्छ । हाम्रो एउटा बानि कस्तो बसेको छ भने–यदि हामीले नारा, जुलुस लगायत अन्य प्रदर्शन गर्यौैं भने सरकारले पनि सुन्ने । अहिले यो कोरोना महामारीका कारणले धेरै भेला पनि हुन सक्दैन । यदि हामीले त्यस्तो गरेको खण्डमा भोलि केही भयो भने त्यो पनि अपजसको कुराहरु आइलाग्ने जस्तो देखिन्छ । तर, नेपाली काँग्रेसका जति पनि नेता कार्यकर्ताहरु हुनुहुन्छ उहाँले कोभिड–१९ को क्रममा पनि कहाँ निर जनतालाई कस्तो किसिमको राहत चाहिएको छ हामीले आफ्नो प्रयासबाट त्यो कार्यभार पनि पूरा गरेका छौ ।

तपाई प्रदेश २ को सिरहाबाट प्रतिनिधित्व गर्दै हुनुहुन्छ । प्रदेश २ मा काँग्रेसको अवस्था कस्तो छ ?
– निर्वाचनको नतिजाको कुरा गर्नुभएको हो भने त्यो सर्वविदितै छ । तर, जहाँसम्म भूमिकाको कुरा गर्नुहुन्छ भने काँग्रेसले प्रदेश २ मा सशक्त भूमिका निर्वाह गर्दै आएको छ । प्रदेश २ अथवा तराई भनेको शुरुदेखिनै काँग्रेसको भोट बैंकको रुपमा रहिआएको छ । अहिले बीचमा विगत केही समयदेखि देखिराखेका छौ, विभिन्न राजनीतिक पार्टीसँग काँग्रेसको प्रतिस्पर्धा र अहिले नागरिकहरुमा के देखिन्छ भने–सबैले परिवर्तन खोजेका छन् । र मलाई लाग्छ परिवर्तन हामीले यो पार्टी वा त्यो पार्टी चेञ्ज गर्नुपर्ने कुरा अथवा यो पार्टीलाई ल्याएको खण्डमा यसले हाम्रो बढी मागको सुनुवाई गर्छ कि हाम्रो बढी काम हुन्छ कि भन्ने एउटा विषय छ, जनतामा । तर, नेपाली काँग्रेसले हामीलाई एकदमै अप्ठ्यारो अवस्थादेखिनै साथ दिँदै आएको, हाम्रा गुनासो, हाम्रा माग सम्बोधन गर्दै आएको हो ।

त्यसैले अहिलेपनि प्रदेश २ का जनताले के भनिरहेका छन् भने–हामीले सबै पार्टीलाई देख्यौ । सबै पार्टीलाई मौका दियौ । अहिले हामीले तुलनात्मक किसिमले सबै पार्टीका बारेमा विष्लेषण गर्दा काँग्रेसले जनताका लागि, जनताका समस्या समाधान गर्न जति कामहरु, जति मुद्दाहरु उठाउँदै आएको छ त्यति कुनै पनि पार्टीले गर्न सकेको छैन । अब काँग्रेस पार्टीलाई छोड्दैनौ र काँग्रेस पार्टीले प्रदेश २ मा आफ्नो सरकार बनाएको खण्डमा मात्रै हाम्रा समस्याहरु सहि ढंगले सम्बोधन हुने छ, भन्ने जनताको दृढ विश्वास रहेको छ । र त्यो व्यक्त हुँदै आएको छ ।

महाधिवेशनको मुखमा पार्टी सभापतिले विभाग गठन गर्नु कतिको वैधानिक वा जायज हो त ?
– विभागका विषय अहिले आएर गठन भएकोभन्दा पनि यो शुरु देखिनै विभाग गठन भन्ने कुरा नेताहरुसँग सरसल्लाह हुँदै आएको हो । तर, पार्टी सभापतिले विभाग गठन खोज्दा उहाँले जहिले पनि सबै नेतालाई अब हामीले उपयुक्त मान्छे उपयुक्त विभागमा राख्नुपर्छ, त्यसका लागि हामी बसौ सरसल्लाह गरौ भन्दा सबै हुन्छ गर्ने–गर्ने भन्दाभन्दै समय टर्दै गयो । आम कार्यकर्ता सबैको भावना चाहि के रह्यो भने हामीले विभागलाई क्रियाशील गर्नुपर्छ । कार्यकर्ताहरुको भावना अनुसार र कार्यकर्ताहरुको मागअनुसार नै विभागहरु गठन भएको हो ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले विभाग खारेजीको माग लगायतका बुँदा समावेश गरी एक हप्ते अल्टिमेटमसहितको लिखित ज्ञापनपत्र बुझाउनुभएको छ नि ?
– त्यो बुझाउने कुरा आफ्नो धारणा राख्ने कुरा हो । लोकतान्त्रिक पार्टीमा फरक विचारहरु आउँछ । लोकतन्त्रको सुन्दरता भनेकै फरक विचारहरु आउनु हो । यस विषयमा नेतृत्वहरु बसेर केही समाधान अवश्य पनि निकाल्नुहुनेछ । जहाँसम्म विभागहरुमा कसलाई कुन विभागमा राख्दा बढीभन्दा बढी काम हुन सक्दछ भन्ने कुरा सबैको रहँदै आएको छ । त्यसमा पनि अझै विभागहरुलाई पूर्णता दिने काम बाँकी नै छ । उहाँहरुको उपयुक्त सरसल्लाहलाई समेटेर नै विभागहरुमा थप सदस्यहरु राख्ने काम सायद हुन्छ होला ।

पार्टीभित्र उत्पन्न विवादले नेता तथा कार्यकर्तालाई निराश बनाएको स्थिति छ नि ?
– प्रत्येक घटनाको प्रत्येक कुराको दुई वटा पाटो हुन्छ । आशा र निराशा भन्ने कुरा मनुस्यको जीवन रहुञ्जेल चलिरहन्छ । जसरी दिनपछि रात र रातपछि दिन हुन्छ । कति खेर को के कुरामा खुशी हुने, के कुरामा दुःखी हुने । तर, हामीले के बुझ्नुपर्छ भने यो निराशा वा आशा जे भए पनि यो स्थायी रहिराख्ने होइन, रहिरहने होइन । राजनीति पार्टीमा पनि त्यस्तै हो । मानिस सधैभरी निराशा नै भइरहने हो भने मान्छे र पार्टी दुवै विघटन हुन्छ । तर, त्यस्तो होइन आशा निराशा यी सबै कुरा पार्टीभित्र पनि कुनै कुराले चित्त बुझेन भने त्यसमा आफ्नो फरक विचार आउने क्रमहरु भइरहन्छन् । यी सबै कुरालाई कसरी सन्तुलित गरेर, कसरी अगाडि बढ्ने, कसरी व्यवस्थापन गर्ने भन्ने कुरा महत्वपूर्ण हो । र, त्यो व्यवस्थापन गर्ने काममा हामी सबै लागेका छौ ।

पुराना नेता कार्यकतालाई कारबाही गर्ने पाखा लगाउने तर अर्काे दलबाट आउनेलाई सम्मान गर्ने पार्टी सभापतिको सोचले के सन्देश दिन्छ ?
– पुराना कार्यकर्ताहरुलाई पाखा लगाउने भनेको चाहि जुन कुराहरु आइरहेको छ, त्यो निराधार हो । हामीले सकेसम्म अन्य पार्टीबाट काँग्रेसको सिद्धान्तलाई मानेर जो साथिहरु आउन चाहनुहुन्छ उहाँहरुलाई उपयुक्त सम्मान गर्ने भनेर हामी सबैले बसेर नै त्यो नीति तय गरेका हौ । यो सबै पार्टीको नीति अनुरुपनै अगाडि बढेको विषय हो र केही अनुशासनका कारवाही जस्ता विषय त्यो पनि मलाई लाग्दछ अनुशासन समितिले सबै नेताका कुरा सुनेर सम्बन्धित पक्ष र विपक्षको कुरा सुनुवाइ गरेर त्यो आधारमा लिइएको निर्णय हो ।

सरकारको कामकारबाहीको निगरानी गर्न काँग्रेसले छायाँ सरकार गठन गरेको एक वर्ष नाघिसक्यो, तर यसको उपलब्धि र औचित्य देखिएन नि? नाम मात्रका लागि गठन जस्तो भयो ?
– छायाँ सरकारहरुले आफ्नो कामहरु अगाडि बढाइरहनुभएको छ । तर, सबैभन्दा महत्वपूर्ण कुरा के हो भने–जसरी प्रतिपक्षको भूमिका भनेको संसदभित्र अथवा संसद छँदाको अवस्थामा बढी प्रभावकारी हुन्छ । संसदको अधिवेशन नै बोलाइएको छैन । संसदको अधिवेशन नै नबसेको लामो समय भइसकेको छ । नेपाली काँग्रेसले त्यतिखेर पनि अहिले अधिवेशनको अन्त्य हुँदैन भनिरहेको अवस्थामा पनि कोभिड–१९लाई देखाएर संसदको अधिवेशन चाडैनै समाप्त गरियो । तर, छायाँ सरकारले आफ्नो काम गरिरहेको छ र बेलाबेलामा आफ्ना काम परिणामहरु के कति कामहरु कसरी अगाडि बढेको छ भन्ने कुराहरु पनि अगाडि आइरहेको छ । र जो–जो छायाँ सरकारका मन्त्रीहरु हुनुहुन्छ उहाँहरुले सम्बन्धित मन्त्रालयसम्बन्धी थुप्रै कुरालाई अत्यन्त सुक्ष्म तरिकाले निगरानी र विष्लेषण पनि गरिरहनुभएको छ ।

तपाईले वर्तमान सरकारको कामकारबाहीको समग्र मूल्यांकन कसरी गर्नुहुन्छ ?
–मैले मूल्यांकन गर्नुभन्दा पनि हामीले जनआवाज सुन्न आवश्यक छ । जनआवाज के आइरहेको छ भने सरकार छ कि छैन । सरकार भएको प्रत्याभूति हामीले गर्न सकेका छैनौ भन्ने जनआवाज छ । यसकारणले गर्दा सरकारको संख्या अथवा संसदभित्रको संख्या मात्रले जनताका समस्याहरु सम्बोधन गर्ने अथवा जनताका समस्याप्रति सम्वेदनशील हुने, गम्भीरता पूर्वक लिने र समाधान गर्ने छिटो–छरितो प्रभावकारी यो सरकारले अपनाएको पटकै देखिएनन् ।

यसको दुईवटा उदाहरण छन्– एउटा महिला हिंसाका कुरा । महिला हिंसाका बारेमा कुरा गर्दा जस्तै निर्मला पन्तको हत्यादेखि लिएर यतिधेरै बलात्कारका घटनाहरु भए । त्यो बढ्दो क्रम एकपछि अर्को हुँदै यो लगातार रुपमा बढेको पनि हामीले देखेका छौ । तर, त्यसको निराकरणतर्फ वा दोषीलाई कारबाही गर्ने कुरा वा जो पीडित पक्ष हो उनीहरुको भावनाहरु बुझ्ने कामसम्म पनि सरकारले गरेको छैन ।

अर्को कुरा हो– बाल श्रमिक यो पनि बढ्दो क्रममा छ । यस विषयलाई पनि सरकारले वास्ता नगरेको देखिन्छ । यस्तो लापरवाही देखिन्छ थुप्रै विषयमा । अर्को महत्वपूर्ण पक्ष भनेको अहिले पनि सरकारले सुखी नेपाली समृद्ध नेपाल भन्ने एउटा नारा अथवा दायित्व हामी पूरा गर्छौ सबै नेपालीलाई सुखी बनाउँछौ अनि मात्र राष्ट्र समृद्ध हुन्छ भन्ने जुन कुरा छ त्यो विषयमा पनि सरकारको ध्यान देखिएन । जनताले के भनिरहेका छन् नेकपालाई बहुमत दियौ, तर केही गर्न सकेनन् । देश विकासको निम्ति जनताका मनोभावना अनुसार सरकार सञ्चालन गर्न नेपाली काँग्रेसनै चाहिन्छ ।

प्रकाशित : असोज १६, २०७७

प्रतिक्रिया दिनुहोस्