विद्यालय भवन भत्काइएपछि बीच सडकमा पढाइ



जनकपुरधाम : जनकपुर उपमहानगरपालिका -२१ कुर्थास्थित राजर्षि जनक माध्यामिक विद्यार्थीहरु अान्दाेलित भएका छन् । वडा कार्यालयको भवन जोगाउन वडा अध्यक्षले लालकिशोर साहको मिलेमताेमा भवन भत्काइएकाे भन्दै विद्यार्थीहरु अान्दाेलित भएका हुन् । उनीहरुले सांकेतिक विरोध गर्दै बिहीबार बाटोमैं अध्ययन अध्यापन गरेका छन् । 

 

२०१७ सालमा स्थापना गरिएको राजर्षि जनक माध्यमिक विद्यालयको भवन सडकभित्र परेको भन्दै उपमहानगरपालिकाका मेयर लालकिशोर साह र वडा अध्यक्ष रामेश्वर महासेठको मिलोमतोमा भत्काइएको भन्दै बिहीबार विद्यार्थीहरु कापी कलमसहित मुख्य सडकमा जम्मा भएर सांकेतिक विरोधमा उत्रनु परेकाे विद्यालयका प्रधानाध्यापक विरेन्द्र यादवले बताएका छन् ।

 

विद्यालयका शिक्षकहरु पढाउँदै गरेकाे र विद्यार्थीहरुबीच सडकमै बसेर पढेको दृश्य हेर्न सञ्चारकर्मी र स्थानीयको भीड लागेको थियो । विद्यालय भवन भत्काइएपछि त्यहाँ अध्ययनरत ६ सय विद्यार्थीको भविष्य अन्यौलमा परेको कारण बाध्य भएर विरोधमा गर्नु परेकाे प्रधानाध्यापक यादवको भनार्इ छ ।

 

नगर प्रमुख साह र वडा अध्यक्ष महासेठले राजनीतिक प्रतिसोध बोकेर डोजर लगार्इ सार्वजनिक विद्यालय भवन भत्काएपछि बाध्य भएर सडकमै बसेर पढेको र विरोध जनाएको स्थानीय सम्भु झाको भनार्इ छ ।

 

सार्वजनिक सम्पत्ति अतिक्रमण गरेर सडकमै वडा कार्यालय निर्माण गर्न बालबालिकाको भविष्य अन्यौलमा पार्दै विद्यालय भवन भत्काइएको उनको आरोप छ । यसअघि पनि कुर्थावासी सार्वजनिक सम्पत्तिको सुरक्षा र विद्यालय भवन पुनः निर्माणको माग राख्दै उपमहानगरसहित जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय घेराउ गरिसकेको छ ।

 

उपमहानगरपालिका कार्यालयले गत वैशाख महिनामा विद्यालय भवन भत्काउन लगाएपछि विद्यालयका प्रधानाध्यापक वीरेन्द्र यादवले उच्च अदालत जनकपुरमा मुद्दासमेत दायर गरेका थिए। 

 

उच्च अदालत जनकपुरले विद्यालय समीपको सडकको मध्यविन्दु यकिन गरी दायाँबायाँ दुबैतर्फ बराबर जग्गा पर्नेगरी मात्र बाटो निर्माण गर्न आदेश दिएको थियो । तर, सडकको दायाँ पर्ने विद्यालयको भवन तर्फबाट मात्र सडक विस्तारको काम गरिएको यादवले बताए । सडकमै रहेको वडा कार्यालय भवनलाई केहि नगरी जनप्रतिनिधिहरुले विद्यालय भवन भत्काउन लगाएको प्रधानाध्यापक यादवले जनाए ।

 

यता वडा अध्यक्ष महासेठले भने स्थानीयवासीले सडक विस्तार तथा पीसीसी सडक निर्माण गर्ने स्थानीयहरुको निर्णय अनुसार विद्यालय भवन भत्काउनु परेको दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्