तेल चोरी हुन थालेपछि १९ सय ट्यांकरमा ताला



काठमाडौं : ढुवानीका क्रममा हुने तेल चुहावट रोक्न नेपाल आयल निगमले सबै ट्यांकरमा सुरक्षित ताला प्रणाली ‘लकिङ’ फिट गरेको छ। निगमका निमित्त प्रबन्ध निर्देशक सुशील भट्टराईका अनुसार बुधबारसम्ममा १ हजार ९ सय ट्यांकरमा यस्तो लकिङ फिट गरिएको छ। 

 

निगमले बुधवार अल्लाहवाद ‘टर्मिनल’बाट तेल ढुवानी गर्ने ट्यांकररमा लकिङ फिट गरेसँगै भारतीय आयल निगमका डिपोबाट नेपाल आयल निगमको डिपोसम्म तेल ढुवानी गर्ने ट्यांकरमा ताला लगाउने काम सकिएको छ। 

 

नेपाल आयल निगमले भारतीय आयल निगमका बरौनी, रक्सौल, बेतालपुर, मुगलसरा, गोन्डा, अलाहवाद र बन्थरा डिपोबाट तेल आपूर्ति गर्छ। ‘ती सबै डिपोबाट तेल ढुवानी गर्ने ट्यांकरमा ताला लगाइएको छ,’ निगमका निमित्त कार्यकारी प्रमुख भट्टराईले भने। 

 

आयल निगमले फिट गरेका ती ताला भारत सरकारले उपलब्ध गराएको थियो। भारतीय आयल निगमले २ हजार २ सय ताला नेपाल आयल निगमलाई प्रदान गरेको थियो।  पहिलो चरणको ताला लगाउने काम सकिएसँगै अब दोस्रो चरणको काम सुरु हुने उनले बताए।

प्रतिक्रिया दिनुहोस्