‘रेशमलाई जेलमा हालेर जनमतको अपमान भएको छ’



कृष्ण बहादुर चौधरी सुदूरपश्चिम प्रदेश सभाका सदस्य हुनुहुन्छ । कैलाली जिल्ला संसदीय क्षेत्र नम्बर १ (क) बाट तत्कालीन राष्ट्रिय जनता पार्टी निर्वाचित चौधरी आदिवासी जनजाति, थारु लगायतका सीमान्तकृत समुदायको हक अधिकार तथा पहिचानका लागि संघर्षरत युवाका रुपमा परिचित हुनुहन्छ । प्रदेशसभा सदस्य चौधरीसँग सुदूरपश्चिम प्रदेशको विकास निर्माण, थारु आन्दोलनसहित विभिन्न समसामयिक विषयमा केन्द्रित रही द नेपालटपकी संवाददाता दीपा चौधरीले कुराकानी गर्नुभएको छ । प्रस्तुत छ उहाँसँग गरिएको कुराकानीको सम्पादित अंश :

सुदूरपश्चिम प्रदेशमा विकासको अवस्था कस्तो छ ? सरकारले कस्तो काम गरिरहेको छ त ?
जनताले जुन खालको अपेक्षा गरेको थियो त्यो अनुसारको विकासले तीव्रता लिन सकेको छैन । विकासको त कुरै छोडौं, प्रदेश सरकारले विनासबाहेक अरु केही गर्न सकेको छैन । उदाहरणको लागि गोदावरीमा राजधानी बनाउने भन्यो तर त्यो स्थानमा जंगल छ । जंगललाई फडानी गरेर कटानी गरेको छ । विकास त अब अहिलेसम्म तीन वर्ष हुनै लागेको अवस्थामा एउटा सानो दुबोसमेत उखेल्न सकेको छैन । यो सरकार विकास होइन विनासतर्फ उद्दत छ । अर्को कुरा, यो प्रदेशको अवस्था दयनीय छ । यहाँका युवा धेरै बेरोजगार छन् । खाना छैन, पानी छैन । कोरोनाको कहरले घरबाट बाहिर ननिस्कने अवस्था छ । सरकारलाई भने कुनै मतलब छैन ।

प्रदेश सरकारले त विकास निर्माणका गतिविधि तीव्र छ भन्ने दावी गरिरहेको छ नि ?
अब तपाईले तीव्र कहाँबाट सुन्नुभयो, कुन माध्यमबाट सुन्नुभयो । कसैले भने पनि त्यो गलत हो । प्रदेश सरकारले गौरवको आयोजना भनेर सुरुकै सालमा यो–यो भनेर भनेको थियो । ०७४-७५को एक करोड पाँच लाख रुपैयाँ अुनगमन अध्ययन भ्रमण गरेर सरकारले खाइदियो । प्रदेशको योजनाको अनुगमन नै गरेन, अनि कुन कुरा प्रदेश सरकारले राम्रो गरेको छ । अहिलेको कोरोना कहरमा न त राम्रो क्वारेन्टाइन छ, न त नाकामा राम्रो होल्डिङ सेन्टर छ । कोरोना परीक्षणको सुस्तता छ । भर्खरै पहाडतिर ठूलो पहिरो गयो, धेरै जनधनको क्षति भयो अहिलेसम्म त्यहाँका जनताले राहत पाएका छैनन् । भदौमा कैलालीको भजनीमा ठूलो बाढी गयो यहाँ हजारौ बिघा धनबाली नष्ट भयो । घर भत्कियो, ती जनाको मृत्यु भयो । अहिलेसम्म प्रदेशको सरकारको नाममा कुनै राहत वितरण गरिएको छैन । हुलाकी सडकसँगै ठाउँ-ठाउँमा बाटो भत्किएको छ, अहिलेसम्म सामान्य मर्मतसमेत गर्न नसक्ने सरकार । धनगढीमै पिपल चोकदेखि खुटिया नदीसम्मको बाटो धुलाम्य छ, अनि प्रदेश सरकारले के राम्रो गरेको छ? के विकास गर्यो? भन्नुस् त? प्रदेश सरकारले केही काम राम्रो गरेको छैन । केही गरेको छ भने त्यो भ्रष्टाचार गरेको छ । पहाडमा चाहि खोलै नभएको ठाउँमा तट्बन्ध बनाउने, अनि तराईमा यत्रो कटान भइरहेको छ त्यहाँचाहि २५ लाख रुपैयाँ निकासा गर्छ । नदी नभएको, खोलै नभएको ठाउँमा चाहि एक करोड ८० लाख रुपैयाँ हाल्छ ।

पहाड र ताईमा यस्तो फरक किन ?
त्यही त बडा अचम्म लाग्छ, जनघनत्वचाहि तराईका कैलाली र कन्चनपुरमा बढी छ । अनि बजेट वितरण गर्दा चाहि मन्त्रीहरुले आफ्नो निर्वाचन क्षेत्रमा, वडा, जिल्लामा गर्छ । तालमेल गरेर सेटिङ मिलाउँछन्, अनियमितता गर्छन । मुख्यमन्त्रीले शुरुकै वर्ष रोष्टममा उभिएर के भन्नुभएको थियो भने गरिबीलाई घटाउछु । एक वर्षभित्र भारतमा काम गर्न जाने नेपालीको संख्या आधा घटाउँछु भन्नुभएको थियो । दशैँ आइसक्यो, दशैँको बेला भारतबाट मनिसहरु फर्किन्छन् तर अहिलेको यो अवस्थामा नेपालबाट भारत जाँदै छन् । सुदूरपश्चिमेली भारत जना बाध्य छन् । अनि यो सरकारले के गर्यो? मुख्यमत्रीले के राम्रो काम गर्यो? मलाई त अचम्म लाग्छ । बडा दुःख लाग्छ । यो सरकार जनताको हाेइन ।

कोरोना संक्रमणको अवस्था कस्तो छ ? नियन्त्रणका लागि प्रदेश सरकारको भूमिका कस्तो पाउनुभएको छ ?

कोरोनाको अवस्था कहालीलाग्दो छ । दैनिक २० देखि ५० जनालाई लागिरहेको छ । सरकारले कोरोना संक्रमितहरुको राम्रोसँग व्यवस्था गर्नुपर्थ्यो तर कानमा तेल हालेर बसेको छ ।

संक्रमितहरुको सामान्य समग्रीसमेत उपलब्ध गराउन सकेको छैन । पटक्कै राम्रो काम गरेको छैन, अनि सरकार भन्छ मैले ९३ करोड खर्च गरे कारोनामा । त्यो रुपैयाँ कहाँ खर्च गर्यो त यो सरकारले? स्कुलमा क्वारेन्टाईन छ, ट्वाईलेट पानीको व्यवस्था स्कुलमा छ । घरबाट खाना बस्नको लागि समान लगिएको छ भने सरकार त्यो खर्च कहाँ गर्यो? यो बेइमान र बदमास सरकार छ । हामीले संसदीय समिति बनाएर कहाँ–कहाँ खर्च गर्यो? छानबिन गर्नु पर्यो? भनेर अवाज उठायौं, संसद अवरुद्ध गर्यौं तर पनि यो सरकारले सुन्दै सुनेन । कम्युनिष्ट सरकारको यो तानाशाही प्रवृति हो । अब यो सरकारको कुनै काम छैन । यो सरकार पूर्णरुपमा असफल छ ।

यो प्रदेशलाई कसरी अगाडि बढाउने, यहाँको विकास, शान्ति सुरक्षा, सुशासन कसरी कायम गर्ने त्यतातिर मुख्यमन्त्रीको कुनै योजना छैन । प्रदेश सरकारले अहिलेसम्म कुनै गौरवको योजना सम्पन्न गरेको छैन । यो प्रदेशमा बेथिति छ, अशान्ति छ । अस्ति भर्खर बझाङमा त्यो घटना भयो । कन्चनपुरको घटना दुई वर्ष भयो यो सरकारले अहिलेसम्म हत्यारा पक्राउ गर्न सकेको छैन, अभियुक्तलाई उल्टै संरक्षण दिएको छ ।

तपाई त तत्कालीन राजपा अहिले जनता समाजवादी पार्टीका हुनुहुन्छ । तपाईको प्रदेश सभामा उपस्थिति गणितीय हिसाबले महत्व राख्दैन तथापि प्रदेश सभामा तपाई कस्तो भूमिका खेलिरहनुभएको छ ?

तपाईले भने जस्तै साँच्चै हामीलाई त देख्दै देख्दैन यो सरकारले । हामी मात्रै छौं भन्छ, नेपाली काँग्रेसका १२ जना सांसद छन् । काँग्रेसलाई पनि टेर्दैन, देख्दैनन् । यो कम्युनिष्ट सरकारको चरित्र, तानाशाह प्रवृति छ अहिले त हामी गणतन्त्र, लोकतन्त्रमा छौं नि त दलहरुको महत्वपूर्ण उपस्थिति छ । तीन दल छौं हामी सुदूपश्चिमममा प्रतिनिधित्व गर्छौ । प्रदेशको नाम र राजधानी बनाउने बेला सभामुखले एउटा विशेष समिति बनाउनुभयो । त्यस समितिमा एक जना काँग्रेसको र राजपाबाट राख्दै राखिएन् । सबै कम्युनिष्ट पार्टीलाई राखियो । यो कम्युनिष्ट सरकारले पत्याएन वास्त गरेन यो सरकारलाई हामीलाई छैन जस्तो लाग्छ । जनताले यो सरकारलाई सधैका लागि अन्त्य गरिदिने छन् ।

आफ्ना क्षेत्रका मतदातासँग गर्नुभएको प्रतिवद्धता कसरी पूरा गर्दै हुनुहुन्छ ?

म कैलाली १ (क) बाट निर्वाचित भएको हुँ । २०७२ साल भदौमा जुन घटना भयो । टीकापुरमा हामी थारु आफ्नो पहिचान, अस्तित्व, स्वाभिमानका लागि अन्दोलनमा थियौं । त्यति बेलाको सरकार र अहिले केपी ओली नेतृत्वको संघीय सरकारको तालमेल संयन्त्र गरेर थारुहरुलाई दमन गर्ने काम जुन गर्यो । अन्दोलनका क्रममा सात जना प्रहरी मरे भने एक जना बालक मरे । थारुहरुले मारे भनेर थारुहरुमाथि मुद्दा लगाइयो । त्यसपछि धेरै थारु अगुवा पलायन हुने अवस्था आयो, बाध्य बनाइयो । अनि ७ गते प्रहरीकै बन्दुकको गोली लागेको थियो । हामी अन्दोलनकारीसँग लठ्ठी, गुर्टाबाहेक अरु केही पनि थिएन । लठ्ठी, गुर्टाबाट गोली निस्किन्छ? संघीय सरकार थारुमाथि ठूलो दमन गर्दैछ । थारुलाई खोज्दै लुटपाट गरी थारुको घरघरमा आगजनी गरियो र थारु चेलीहरुमाथि बलात्कार गरिएको छ । ती अभियुक्तहरुलाई सरकारले अहिलेसम्म कारबाही गरेको छैन, कारबाही गर्नुपर्छ । त्यस घटनाको छानबिन गर्न गठित आयोगले दिएको प्रतिवेदन पनि वर्षाैदेखि थन्किएको छ, सार्वजनिक भएको छैन ।

किन सार्वजनिक गरेन सरकार प्रतिवेदन ?

त्यसमा ठूलो संयन्त्र छ । प्रतिवेदनमा जे छ त्यो कम्तिमा सार्वजनिक गर्नुपर्छ । रेशम चौधरीसहित मुद्दा लागेका व्यक्ति त्यहाँ थिए कि थिएनन् । त्यो सार्वजनिक नगरी मुद्दा लगाइदिने? त्यतिकै लखेटिदिने? थारुमाथि दमन शोषण हो । त्यसकारण हामीले त्यो भनेका छौं त्यो प्रतिवेदन सार्वजनिक गरियोस् अनि रेशमसहितका व्यक्तिहरुको सहभागिता छ भने कानुनले के भन्छ त्यो अनुसार सजाय दियोस् । यो देशमा बडा गाह्रो छ हामी लोकतन्त्र, गणतन्त्रमा छौ तर यतिबेला पनि थारुहरुमाथि यति दमन र अन्याय भइरहेको छ ।

रेशमले साढे ३४ हजार मत ल्याए । जनताको जनमत, जनताको अभिमत सबभन्दा ठूलो अदालत हो । यदि रेशम दोषी हो भने जनताले मत दिने थिएनन् । थारुले मात्रै होइन, पहाडी समुदायले पनि मत दिएका छन् । थारुको छोरा भएर जेलमा हाल्ने, कस्ता-कस्ता अदालतले फैसाला गरेका कुख्यात गुण्डाहरुलाई सरकारले छोडेको छ । अनि जनताको जनमत पाएकालाई थुन्ने । शोषण, दमन र अत्याचारबाहेक सरकारले केही गरेको छैन ।

तपाईकै पार्टीका नेता तथा प्रतिनिधि सभा सदस्य रेशमलाल चौधरी अहिले जेलमा हुनुहुन्छ, तपाईको भनाइ के छ ?

संघीय सरकारले जनमतको उल्लंघन गर्दै छ । रेशमलाई तुरुन्त रिहा गर्नुपर्छ । राजनीतिक घटनाका विषयमा रेशमलाई जेलमा राखेर सरकारलरे जनमतको अपमान गरिरहेको छ ।

सांसद रेशमलाल चौधरीको अनुपस्थिति कैलालीका जनताले अनुभूति गरिरहेका होलान नि हैन ?
रेशम बिना टीकापुर बन्दैन भन्छन् । यहाँका पहाडी समुदायले रेशमबिना शान्ति हुँदैन भन्छन् । रेशमबिना यो टीकापुरको विकास हुँदैन, टीकापुर सुनसान छ । जुन टीकापुर रेशम हुँदा थियो त्यो टीकापुरमा जमिन आकाशको फरक छ । मान्छे एक किलो खुर्सानी, नुन, तेल लिन पनि भारतको टिकुनिया बजार ताँक्छन् । तर त्यहाँ जाँदैनन्, डराउँछन् । किनकि त्यहाँ केही व्यक्तिले थारुउपर दमन गरेका थिए, त्यो डर, त्रास अझै पनि कायम छ । थारु पहाडी दुवै समुदायले रेशम आउनुपर्छ सरकारले छोड्नुपर्छ भन्ने अवाज उठाइरहेका छन् ।

अत्यधिक मत ल्याएर जितेका सांसद जेलमा छन् अनि प्रतिनिधि सभामा पराजित भएका कतिपय व्यक्ति राष्ट्रिय सभा सदस्यमा मनोनीत भएर पुगेका छन् । कैलालीका जनतालाई अन्याय भयो जस्तो लाग्दैन?

धेरै अन्याय भइरहेको छ । यो देशमा पहाडि खस बाहुनबाहेक कसैलाई देख्दैनन् । टीकापुरमा ७५-७६ प्रतिशत अन्य समुदायका मानिस छौं, १२-१३ प्रतिशत बाहुनहरुले देशमा शासन गर्ने? बर्दियाबाट हारेका बामदेव गौतम कसरी पुनः राष्ट्रिय सभामा मनोनीत भए? जितेका जनप्रतिनिधिलाई जेलमा कोचेर राख्ने अनि हारेका व्यक्तिलाई संसदमा लैजाने? योभन्दा ठूलो अन्याय र जनताको अपमान के हुन्छ?

अहिले उहाँलाई मन्त्री बनाउने कुरा हुँदै छ नि ?

हो त्यही त बडा दुःखको कुरा छ । हारेका व्यक्ति, त्यति बेलाका गृहमन्त्री जसले थारुमाथि दमन गर्यो, प्रहरी प्रशासन परिचालन गर्यो त्यस्ता व्यक्तिलाई संघीय सरकारले राष्ट्रिय सभामा लगेर मन्त्री बनाउने? प्रधानमन्त्री बनाउने? थारुहरुमाथि थप दमन गर्ने? नेपालमा साढे ३४ हजार मत ल्याएर कोही निर्वाचित भएको छैन । यो बाहुनहरुको बेइमानी हो ।

सांसद चौधरीको रिहाइका लागि थारु समुदाय र जसपाले कुनै पहल गरिरहेको छ कि ?

जनता समाजवादी पार्टी लागेको छ, पटक पटक रिहा गर्न आग्रह गरेको छ । तर सरकार बहिरो बनेको छ । अब जसपा पुनः आन्दोलनमा जानुको विकल्प छैन । थारु समुदाय आन्दोलित हुनुको विकल्प देखिदैन । रेशमलाई रिहा गराउन जसपा र सिंगो थारु समुदायले पुनः एक पटक आन्दोलनको आँधिबेहरी ल्याउनुपर्ने छ ।

राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकीकरण भइ जसपा बनेपछि सुदूरपश्चिममा नेता तथा कार्यकर्ताको प्रतिक्रिया कस्तो छ ? यो एकीकरण लामो समयसम्म जान्छ त ?

दुई दल एकीकरण भइसकेपछि जनता धेरै उत्सहित छन् । एकीकरण लामो समयसम्म जान्छ । अब पहिचानका मुद्दा बोकेका दुई ठूला दल एक भएको छ । यो कम्युनिष्ट र काँग्रेसले त सबैले सबै अधिकार पाइसके भनेर हल्ला गर्छन, तर त्यो सत्य होइन । संविधानमा सीमान्तकृत समुदायको हक अधिकार सुनिश्चित गर्न बाँकी नै छ । थारुवानका मुद्दा उठाएका माओवादीले पनि धोका दिएकै हो ।

प्रकाशित : १७ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्