पुजाले भुटानी लिग खेल्ने



काठमाडौं : नेपाली राष्ट्रिय महिला टोलीकी सदस्य पुजा रानाले भुटानको महिला सुपर लिग खेल्ने भएकी छिन्। डिफेन्डर पुजाले भुटानको सनराइज फुटबल क्लबबाट महिला सुपर लिग खेल्ने भएकी हुन्। एक सिजनको लागि पुजाले सनराइजबाट खेल्ने छिन्।

अखिल नेपाल फुटबल संघ (एन्फा)का मिडिया अधिकृत आयुस खड्काले पुजाको नो अब्जेसन पत्र क्लबलाई पठाएको बताए। पुजाले नेपाली सिनियर टोलीमा घरेलु मैदानमा सम्पन्न पाँचौ महिला साफ च्याम्पियनसिपबाट डेब्यु गरेकी थिइन।

विराटनगरमा सम्पन्न साफमा पुजाले बंगलादेशबिरुद्धको खेलबाट डेब्यु गरेकी थिइन्। नेपाली यु–१९ महिला टोलीका मुख्य खेलाडी रहेकी पुजा ओलम्पिक छनोट अन्तर्गतको दोस्रो चरणको छनोटको नेपाली टोलीमा समेत रहेकी छिन्। पुजाले घरेलु लिगमा विभागीय टिम त्रिभुवन आर्मीबाट खेल्दै आएकी छिन्।

प्रतिक्रिया दिनुहोस्