आइसियुमा उपचाररत बिरामी हामफाले, उपचारकै क्रममा मृत्यु



मोरङ : मोरङको विराटनगरस्थित विराट नर्सिङ होम (विराटनगर अस्पताल) बाट हामफालेका आइसियुमा उपचाररत एक बिरामीको मृत्यु भएको छ ।

अस्पतालको दुई तला माथिबाट हामफालेका मोरङको मिक्लाजुङ गाउँपालिका ७ का ५३ वर्षीय अमृत गजमेरको उपचारकै क्रममा ज्यान गएको हो ।

गजमेर असोज १७ गते उपचारका लागि अस्पताल भर्ना भएको पाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ । फोक्सोमा गम्भीर समस्या देखिएको भन्दै चिकित्सकको सल्लाहमा उनलाई आईसीयूमा भर्ना गरिएको थियो ।

आईसीयूबाट गर्मी भएको भन्दै बाहिर निस्किएका गजमेरले आज (सोमबार) बिहान ५ः३० बजेतिर दुई तलामाथिबाट हामफालेको जानकारी अस्पतालले प्रहरीलाई गराएको थियो । हामफालेर गम्भीर घाइते उनलाई उपचारका लागि आईसीयूमा भर्ना गरिएको थियो । उनको उपचारका क्रममा ९ बजेतिर मृत्यु भएको हो ।

आइसियुमा उपचाररत बिरामी हामफलेर मृत्यु हुनु अस्वभाविक देखिएका कारण घटनाको अनुसन्धान अगाडि बढाइएको एसपी खड्काले बताए ।

प्रकाशित :१९ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्