जनगणनाका लागि ५ अर्ब र ५० हजार कर्मचारी आवश्यक



काठमाडौं : केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ का लागि करिब ५ अर्ब रुपैयाँ आवश्यक पर्ने बताएको छ। बुधबार संसदको अर्थ समितिमा विभागका महानिर्देशक सुमनराज अर्यालले जनगणनाका लागि चालू आर्थिक वर्षदेखि नै तयारी गर्नेपर्ने र २०७८ मा जनगणना सकिँदासम्म ४ अर्ब खर्च ८६ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको बताए।

‘कार्यालय ब्यवस्थापनदेखिका काम गर्नुपर्ने हुन्छ र हामीले अहिलेदेखि नै तयारी सुरु गर्नुपर्ने भएकाले जनगणना सकिँदासम्म ४ अर्ब खर्च ८६ करोड खर्च हुने अनुमान गरेका छौं’, उनले भने। यससम्बन्धी प्रस्ताव विभागले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पठाइसकेको छ।

देश संघीय संरचनामा गएकाले प्रदेश, जिल्ला र स्थानीय तहमा जनगणना कार्यालय स्थापना गरी काम गर्ने योजना बनाइएको उनको भनाइ छ। केन्द्रदेखि स्थानीय तहसम्मको तथ्यांक संकलन गर्नुपर्ने भएकाले रकम अभाव नहोस् भनेर सरकारसमक्ष प्रस्ताव लगिएको पनि उनले जानकारी दिए।

५० हजार कर्मचारी चाहिने

महानिर्देशक अर्यालका अनुसार विभागले राष्ट्रिय जनगणना २०७८ का लागि ५० हजार कर्मचारी आवश्यक रहेको अनुमान गरेको छ। विभागले जनगणनाका लागि ६० वटा प्रश्न (प्रश्नावली) तयार पारिएको उनले जानकारी दिए। राष्ट्रिय जनगणना २०७८ को तयारीका सन्दर्भमा समितिले बुधबार विभागलाई बोलाएर छलफल गरेको हो।

छलफलका क्रममा सांसदहरूले तथ्यांक संकलनका क्रममा हुने त्रुटी र विश्वसनीयतामाथि प्रश्न उठाएका थिए। जवाफमा महानिर्देशक अर्यालले कसरी सही तथ्यांक संकलन गर्नका सकिन्छ भन्नेमा खुला छलफल गर्न विभाग तयार रहेको बताए।

प्रतिक्रिया दिनुहोस्