हेपाटाइटिस सी भाइरस पत्ता लगाउने वैज्ञानिकलाई चिकित्सातर्फको नोबेल पुरस्कार



काठमाडौं : यस वर्षको चिकित्सातर्फको नोबेल पुरस्कार दुई अमेरिकी र एक बेलायती वैज्ञानिकले पाएका छन् ।

आज (सोमबार) स्टकहोमस्थित कारोलिनस्का इन्स्चिट्युटमा बसेको नोबेल कमिटीको बैठकले हेपाटाइटिस सी भाइरस पत्ता लगाउने उनीहरू ३ जनालाई पुरस्कार दिने निर्णय गरेको हो ।

मेरिल्यान्डको युएस नेशनल इन्स्चिट्युट अफ हेल्थका हार्भे जे अल्टर, न्युयोर्कको रकेफेल्लर युनिभर्सिटीका चार्ल्स एम राइस र क्यानडास्थित युनिभर्सिटी अफ अल्बर्टाका बेलायती भाइरोलोजिस्ट माइकल ह्युगटनले १० मिलियन स्विडिस क्रोनरको पुरस्कार पाउने भएका छन् ।

तीन वैज्ञानिकले सिरोसिस र कलेजोको क्यान्सरको मुख्य कारण हेपाटाइटिस सी भाइरस पत्ता लगाएका थिए । नोबेल कमिटीका सचिव थोमस पर्लम्यानले लाखौंलाई प्रभाव पारेको हेपाटाइटिस सी भाइरसलाई प्लेगको रूपमा वर्णन गरेका छन् ।

उनले पुरस्कार विजेता अल्टर र राइसलाई टेलिफोन गरी जानकारी गराएको र भाइरोलोजिस्ट ह्युगटनसँग भने तुरून्तै सम्पर्क नभएको बताए । विश्व स्वास्थ्य संगठनको अनुमान अनुसार सात करोड बढीलाई हेपाटाइटिस सी भाइरसको संक्रमण छ ।

हरेक वर्ष त्यसको संक्रमणबाट ४ लाखले ज्यान गुमाउने गरेका छन् । मृत्यु हुनेहरू साइरोसिस र कलेजो क्यान्सरका बिरामी धेरै हुन्छन् । भौतिक विज्ञानतर्फको पुरस्कारको घोषणा मंगलबार गरिने छ भने रसायन विज्ञानतर्फको बुधबार गरिने छ ।

प्रकाशित : १९ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्