५ महिनामा प्रदेश १ मा बलात्कारका २ सय ३७ घटना



विराटनगर : लकडाउन पछिका पाँच महिनाको अवधिमा प्रदेश १ मा दैनिक एक देखि दुई जनासम्म बलात्कृत भएको प्रहरी तथ्यांकले देखाएको छ । 

प्रदेश १ प्रहरी कार्यालयका अनुसार गत चैतयता लकडाउन पछिका पाँच महिना (साउनसम्म) अवधिमा २ सय ३७ जना बलात्कृत भएका छन् । बलात्कृत हुनेमा २० वर्षमुनिका महिला सबैभन्दा बढिरहेको उक्त कार्यालयका प्रवक्ता नायब उपरीक्षक (डीएसपी) कविन्द्रकुमार कार्कीले बताए ।

पीडितमध्ये ५ देखि २० वर्ष उमेर समूहका १ सय ७५ जना र २० वर्षदेखि ४० वर्ष माथिका ६२ जना रहेको उक्त कार्यालयले जनाएको छ । दुवै उमेर समूहका बलात्कार पीडित हुने साझा कारणमा ललाइफकाइ र प्रलोभन नै भएको उनले बताए ।

तर कम उमेरकालाई बिहे गर्छु भन्दै फकाएर बलात्कार गरिएका घटना बढी भएको डीएसपी कार्कीले बताए । प्रहरीका अनुसार ५ देखि २० वर्ष उमेर समूहका चैतमा २५, वैशाखमा २७, जेठमा ४८, असारमा ३६ र साउनमा ३९ चेलीबेटीसँग यो अपराध भएको छ । यसैगरी २० वर्षदेखि ४० वर्ष माथिका चैतमा १०, वैशाखमा ७, जेठमा १०, असारमा १४ र साउनमा २१ जनाको बलात्कार भएको प्रहरीले जनाएको छ ।

लकडाउन अगाडिका पाँच महिनामा २ सय ६ जना बलात्कृत भएको उक्त कार्यालयले जनाएको छ । यो तथ्यांकले पनि दैनिक १ जना पीडित हुने गरेको देखाउँछ । यस अवधिमा पीडित हुनेमा ५ वर्षदेखि २० वर्ष उमेर समूहका १ सय ४२ जना र २० वर्षदेखि ४० वर्षमाथिका ६४ जना रहेको प्रहरीले जनाएको छ ।

लकडाउन अघि ५ देखि २० वर्ष उमेर समूहका कात्तिकमा २४, मंसिरमा २७, पुसमा ३३, माघ र फागुनमा २९/२९ तथा २० वर्षदेखि ४० वर्षमाथिका ती महिनाहरुमा क्रमश : १७, ९, १० र १४/१६ जना पीडित भएको प्रहरीले जनाएको छ । कानुनको कमजोर कार्यान्वयनसँगै अभिभावक, परिवारजन र समाजमा जागरुकता एवं जिम्मेवारीबोधमा कमीले पनि अपराध नियन्त्रण हुन नसकेको विज्ञहरु बताउँछन् । कान्तिपुर दैनिकमा जितेन्द्र साहले लेखेका छन् ।

प्रकाशित : असोज २०, २०७७

प्रतिक्रिया दिनुहोस्