विराटनगरमा थप दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु



विराटनगर : विराटनगरमा थप दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत ५० र ४५ वर्षीय कोरोना संक्रमित पुरुष मृत्यु भएको हो ।

मोरङको कानेपोखरी गाउँपालिका–६ का ५० वर्षीय पुरुषको मंगलबा बिहान ३ बजेतिर मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए । उनका अनुसार ज्वरो आएको भन्दै पुरुषलाई उपचारका लागि चिन्ताजनक अवस्थामा सोमबार दिउँसो अस्पताल ल्याइएको थियो ।

स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा साँझ ६ बजे रिपोर्ट पोजेटिभ आएपछि आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको दाहालले बताए । ती पुरुषमा पाँच वर्षदेखि ब्लड क्यान्सरको पुरानो समस्या रहेको उनले बताए ।

त्यस्तै रतुवामाई नगरपालिका –८ का ४५ वर्षीय संक्रमित पुरुषको पनि मंगलबार बिहान २ः३० बजेतिर मृत्यु भएको जानकारी दाहालले दिए । उनलाई उपचारका लागि असोज १३ गते अस्पताल ल्याइएको थियो । स्वाबको पीसीआर परीक्षण गराउँदा भोलिपल्ट रिपोर्ट पोजेटिभ आएपछि आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको दाहालको भनाइ छ ।

मधुमेहको समस्या रहेका पुरुषमा पछिल्लो समय ज्वरो, निमोनिया र टाइफाइट पनि थपिएको उनले बताए । आइसीयूमा राखेर उपचार थालिएको भए पनि पुरुषलाई बचाउन नसकिएको जानकारी उनले दिए ।

प्रकाशित : असोज २०, २०७७

प्रतिक्रिया दिनुहोस्