प्रधानमन्त्री भन्छन् : पर्यटक भित्र्याउन विमानस्थलका कर्मचारी सुध्रन आवश्यक



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालप्रति पर्यटकको सकारात्मक दृष्टिकोण बनाउन विमानस्थलका कर्मचारीको ब्यवहारमा सुधार ल्याउनुपर्ने बताएका छन्। नेपाल भ्रमण वर्ष २०२० मूल आयोजक समितिको तेस्रो बैठकलाई बुधबार सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।  

प्रधानमन्त्री ओलीले विमानस्थलका कर्मचारीले विदेशी पर्यटकलाई अनावश्यक सोधखोज गर्ने, नियम कानुन भन्दा बाहिर गएर ब्यवहार गर्ने गर्दा पर्यटकहरूले नेपालप्रतिको सोचाइ सकारात्मक बनाउन नसक्ने प्रधानमन्त्री ओलीको भनाइ छ।

“सबैभन्दा पहिला एयरपोर्टका अधिकृतहरूलाई तालिम दिनुपर्छ। उनीहरूलाई दम्भ छोड भन्नुपर्छ”, प्रधानमन्त्री ओलीले भने, “देशको इमेज बिग्रने गरी पर्यटकसँग ब्यवहार गर्नु भएन। एयरपोर्टमा त नेपालको बारेमा सकारात्मक सन्देश दिएर स्वागत गर्ने हो।”

ओलीले भ्रमण वर्षको तयारीका लागि सबै क्षेत्रलाई जुट्न निर्देशन दिएका छन्। प्रधानमन्त्री ओलीले सन् २०१९ भरीमा ट्राफिक व्यवस्थापन गरिसक्न, सडक सफा गर्न, होटल तथा अन्य पयर्टक आउजाउ गर्ने क्षेत्रका मानिसहरूलाई पर्यटकमैत्री ब्यवहार गर्न सिकाउनुपर्ने बताए। “भ्रमण वर्ष भब्यताका साथ सफल पार्नु पर्छ”, ओलीले भने,“यसका लागि सबैले जुट्नु पर्दछ।”

प्रतिक्रिया दिनुहोस्