प्रचण्डले प्रदेश २ सरकारलाई धम्की दिए : राजपा नेता



काठमाडौं : राजपा नेपालका उपाध्यक्ष वृषेशचन्द्र लालले नेकपाका अध्यक्ष प्रचण्डले जनकपुरमा गएर प्रदेश सरकारलाई ‘ओभरटेक’ नगर्न दिएको निर्देशनलाई धम्कीको संज्ञा दिएका छन् । 

 

उनले भने,‘प्रचण्डको भनाईलाई हामीले गम्भीर रुपमा लिएका छौं । यो प्रचण्डको हामीलाई धम्की हो । उहाँले सल्लाह वा सुझाव दिनुभएको होइन् ।’

 

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले प्रचण्डले जनकपुरमा २ नम्बर प्रदेशलाई ठाडै चेतावनीको स्वरमा धम्की दिएको बताए । उनले भने,‘संघीय सरकारले संविधानबमोजिम काम गर्छ कि गर्दैन, यदि संघीय संरचना तोड्न खोज्यो भने हामी मुकाविला गर्न तयार छौं । मधेशी जनता मुकाविला गर्न तयार छन् ।’

 

उनले प्रचण्डले आफूहरुलाई धम्की दिनुको अलवा आफ्नो रणनीतिस्वरुप उक्त अभिव्यक्ति दिएको पनि आरोप लगाए । 

 

उनले भने,‘प्रचण्डले आफू सत्तामा जाने दाउमा संघ र प्रदेशबीच द्वन्द्व चर्काउने रणनीति लिएका छन् । यो सरकार बदनाम होस् भन्ने उनको चाल छ । अनि मेरो पालो आउँछ भन्ने प्रचण्डले सोचेका छन् ।’ 

 

उनले मुलुकमा अराजकताको स्थिति आयो भने यसको सम्पूर्ण जिम्मेवारी संघीय सरकारको हुने समेत बताए। प्रचण्डले जनकपुरको त्यही सभामा आफू मधेशी जनताको मागप्रति गम्भिर रहेको तर वर्तमान सरकारको नेतृत्व गरेर बस्नेहरु नभएको भन्ने अभिव्यक्ति दिएको पनि उनले सुनाए । 

प्रतिक्रिया दिनुहोस्