प्रहरी हस्तक्षेप बढेपछि सरकारी चिकित्सक काममा फर्किए



काठमाडौं : सरकारी चिकित्सक काममा फर्किएका छन्। आकस्मिकबाहेकका सेवा ठप्प पारी आन्दोलनमा उत्रिएका उनीहरूको धर्नामा प्रहरी हस्तक्षेप बढेपछि बुधबारबाट उनीहरू पछि हटेका हुन्। सरकारले बुधबार बिहान चिकित्सकको धर्नामा सुरक्षाकर्मी परिचालन गरी वीर अस्पतालको बहिरंग विभाग (ओपीडी) खुलाएको थियो।

चिकित्सकको समायोजनप्रति असन्तुष्टि जनाउँदै सरकारी चिकित्सक संघ (गोदान)को आह्वानमा शुक्रबारदेखि सरकारी चिकित्सक आन्दोलनमा थिए। सुरक्षाकर्मी परिचालन गरी सरकारले वीर अस्पतालको ओपीडी खुलाएर बिरामीलाई टिकट वितरण गरेको थियो। यसअघि भने आन्दोलनरत चिकित्सकले टिकट वितरणमा अवरोध गर्दै आएका थिए।

हतियारसहित प्रवेश गरेका प्रहरीले शान्तिपूर्ण आन्दोलनका चिकित्सकमाथि दुव्र्यवहार गर्दै हातपात गरेको गोदानका अध्यक्ष दीपेन्द्र पाण्डेले बताए। ‘अस्पतालभित्र प्रवेश गरेका प्रहरीले अश्लील शब्द बोल्दै दुव्र्यवहार गरे। शान्तिपूर्ण रूपमा धर्ना दिएका चिकित्सकलाई हातपात गरे’, डा.पाण्डेले भने। प्रहरीको हातपातबाट डा. सन्तोष राई घाइते भएपछि आकस्मिक कक्षमा उपचार गरिएको थियो।

प्रहरीको धरपकडपछि वीर अस्पताल प्रशासनले ओपीडीको टिकट वितरण गरेको थियो। बुधबार झन्डै चार सय बिरामीले उपचार पाएको अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले जानकारी दिए। अस्पतालभित्र र बाहिर दुवै स्थानबाट बिरामीलाई सेवा प्रवाह गरिएको थियो। आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ।

प्रतिक्रिया दिनुहोस्