समयमै महाधिवशेन माग गर्दै पौडेलको भने: भागबण्डाको शुरुवात देउवाले नै गरेका हुन्



काठमाडौं: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भागभण्डाको शुरुवात पार्टी सभापति शेरबहादुर देउवाले गरेको आरोप लगाएका छन्। बुधबार काठमाडौंमा नेपाल शिक्षक संघको २० औं प्रतिनिधि सम्मेलनलाई सम्बोधन गर्दै पौडेलले उक्त आरोप लगाएका हुन्।

कार्य्रक्रममा वरिष्ठ नेता पौडेलले भने, ' राजनीतिमा पावर सेयरिङ हुन्छ। पार्टीमा ६०–४० को सुरुवात शेरबहादुर देउवाले गरेका हुन्। सभापति जी आफै अहिले पनि भागबण्डाको कुरा गर्ने अनि दोष अरुलाई लगाउने?'

उनले पार्टीको १४ औं महाधिवेशन कुनैपनि हालतमा समयमै हुनुपर्ने माग दोहोर्‍याए। टाइम्ली महाधिवेशनको माग गर्दै आएका पौडेलले महाधिवेशनको लागि म्याद थप गर्ने कुनै कारण नभएको प्रष्ट पारे।

पार्टी बलियो बनाउनका लागि पनि महाधिवेशन समयमै हुनुपर्ने उनको तर्क थियो। पौडेलले भने, 'हामीले अब आउने स्थानीय तथा आम चुनावलाई ध्यान दिएर पनि महाधिवेशन समयमा गर्नुपर्छ। अब आगामी चुनावमा कम्युनिष्टसँग प्रतिष्पर्धा गर्न कांग्रेसको नेतृत्व ओरल्ली मोरल्ली र पोलिटिकल्ली रुपमा सक्षम हुन जरुरी छ।'

लोकतन्त्रलाई मजबुद बनाउन शिक्षकहरुले ठूलो योगदान गरेका उल्लेख गर्दै नेता पौडेलले अब विकासका लागि प्राविधिक शिक्षामा जोड दिनुपर्ने धारणा राखे। सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा दिने र सामुदायिक बिद्यालयलाई आकर्षक बनाउन शिक्षकहरु पनि लाग्न जरुरी रहेको उनको सुझाव थियो।

वर्तमान सरकारले शिक्षामा बजेट कटौति गरेको आरोप लगाउँदै उनले भने, 'कम्युनिष्ट सरकारले शिक्षामा बजेट घटाएका छन्। बजेट घटाएर कसरी विकास हुन सक्छ? वर्षो पढाएका अस्थायी शिक्षक अलपत्र छन्। उनीहरुको समस्या समाधान गर्नुपर्छ। अस्थायी शिक्षकको समस्या सधैका लागि दिनेगरी शिक्षा विधेयक ल्याउनुपर्छ । 

संवैधानिक परिषदले गर्ने नियुक्तिमा कांग्रेस मौन बस्नै नहुने पौडेलको भनाई थियो। त्यसैगरी उनले  मैले मुलुकको संविधान बनाउदा कम्युनिष्टसंग अक्षर अक्षरमा लडाई गरेको कांग्रेसको सिद्धान्तलाई जिताएको उल्लेख गरे। 

प्रतिक्रिया दिनुहोस्