डलरको सञ्चिति अत्यधिक घट्दो, वैदेशिक व्यापार प्रभावित



काठमाडौं : गत केही वर्षयता लगातार अमेरिकी डलरको सञ्चिति घट्दै जादा मुलुकले अर्बौं रुपैयाँको व्यापार–घाटा बेहोर्नुपरेको छ । विभिन्न व्यक्तिहरूले राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी डलर साटेर विदेश लैजाने क्रम बढाएपछि अमेरिकी डलरको सञ्चितिमा कमी आउन थालेको हो ।

पछिल्ला वर्ष डलर सञ्चितिमा लगातार कमी आइरहेको छ । डलर सञ्चितिमा ह्रास आउँदा हरेक वर्ष अर्बाैं रुपैयाँको व्यापार घाटा बेहोर्नुपरेको अर्थ मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।

यसअघि राष्ट्र बैंकले पनि डलरको सञ्चिति घटेको भन्दै प्रतिव्यक्ति २५०० रहेको डलरको सीमा घटाएर १५०० मा झारेको थियो ।

राष्ट्र बैंकले त्यस्तो व्यवस्था गरे पनि सर्वसाधारणले भने बिनाअनुमति ५ हजारभन्दा बढी डलर लाने गरेका घटना बढ्न थालेको पाइएको छ । सीमाभन्दा बढी डलर लैजाने व्यक्तिहरू एयरपोर्टमा पक्राउ हुने क्रमसमेत बढेको प्रहरीले जनाएको छ ।

यसअघि राष्ट्र बैंकले जारी गरेको सर्कुलरले केही भ्रमसमेत सिर्जना गरेको थियो । राष्ट्र बैंकको सर्कुलरअनुसार भन्दै कैयौं व्यक्तिहरूले ६ हजार ५ सय डलर लिएर विदेश उड्दा डलरको सञ्चिति एकाएक घट्न पुगेको सरकारका अधिकारीहरूको भनाइ छ ।

एकै व्यक्तिले ६ हजार ५ सय डलर विदेश लैजाने क्रम बढाएपछि राष्ट्र बैंकले पुनः गत मंगलबार डलरको सटहीसम्बन्धी अर्काे सर्कुलर जारी गरेर कडाइ गरेको छ । सो सर्कुलरले बिनाअनुमति डलर लान पूर्णरूपमा प्रतिबन्ध लगाउने राष्ट्र बैंक विदेशी विनिमय विभागका प्रमुख भीष्मराज ढुंगानाले बताए । उनले भने, ‘राष्ट्र बैंकले तोकेभन्दा बढी डलर लान पाइँदैन ।’ नयाँ सर्कुलरले डलरको सञ्चिति बढाउने उनले बताए ।

विदेश जानेले बिनाअनुमति बढी डलर लैजान नसकून् भनेर नयाँ सर्कुलर गरेको प्रमुख ढुंगानाको भनाइ छ । नयाँ सर्कुलरअनुसार ५ हजार डलरभन्दा बढी लान र ल्याउन कसैले पनि पाउनेछैनन् । प्रतिव्यक्ति १५ सय भए पनि कारण खुलाएर ५ हजार डलर लान पाउनेछन् । यदि बढी लगेको वा ल्याएको खण्डमा भन्सार घोषणा गरी प्रमाणित गरेको हुनुपर्नेछ । नेपालबाट विदेश जाँदा लाने ५ हजार डलर लैजाँदा विदेशी मुद्रा राहदानीमा दरपिठ गरेको हुनुपर्नेछ । तर, औषधि उपचारका लागि भने सो व्यवस्था लागू हुनेछैन ।

विभिन्न प्रयोजनका लागि विदेश जानेको संख्या वृद्धि भएसँगै डलरको सञ्चिति पनि घट्न पुगेको राष्ट्र बैंकको भनाइ छ । पछिल्लो समय विदेश अध्ययन गर्न जाने विद्यार्थीको संख्या बढेको, घुमफिरका लागि विदेश जाने प्रवृत्ति बढेको तथा व्यापार, व्यवसायलगायत विभिन्न कामका लागि बिदेसिने क्रम बढेकाले डलरको सञ्चिति घटेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यस्तो छ डलरको घट्दो सञ्चिति

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको ७ (माघ महिना) मा डलरको सञ्चिति ९ अर्ब ४९ करोडमा सीमित भएको छ । जबकि गत असार मसान्तसम्म डलरको सञ्चिति १० अर्ब ८ करोड थियो । असार यता ५९ करोड डलर घटेको देखिएको छ ।

अर्थमन्त्रालयले पनि डलरको सञ्चिति घटेपछि सञ्चिति बढाउने विषयमा सक्रियता देखाएको छ । मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीका अनुसार महँगा र विलासीताका वस्तु आयातमा कडाइ गर्न लागिएको छ । मन्त्रालयको यो कदमले मुलुकले वर्षाैंदेखि खेप्दै आएको व्यापार–घाटा पनि न्यूनीकरण हुने प्रवक्ता कार्कीले बताए । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्