संविधान कार्यान्वयनमा सरकार असक्षम : नेपाली कांग्रेस



काठमाडौं । नेपाली कांग्रेसले संविधान कार्यान्वयनको सम्बन्धमा सरकार असक्षम रहेको आरोप लगाएको छ ।

संविधान दिवसको अवसर सरकारको समीक्षा गर्दै कांग्रेसले संघीयतालाई दरिलो बनाउने इच्छा शक्ति र क्षमता प्रस्तुत गर्न नसकेको आरोप पनि लगाएको छ ।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस उपसभापति बिमलेन्द्र निधिले संविधानको अपनत्व विस्तार गर्न पनि चुकेको आरोप लगाउनुभयो । संविधान निर्माणमा असन्तुष्ट रहेका दलहरुसँग गरेको समझदारी सरकारले बिर्सँदा आज संविधान दिवसको दिन कतै हर्सोल्लास कतै कालो दिन मनाउनु  परेको लगाए ।

संविधान संशोधनमा विगतको सरकारलाई राष्ट्रघाती भने पनि अहिले सरकारले संशोधनलाई सत्ताको बार्गेनिङका रूपमा मात्रै प्रयोग गरेको उपसभापति निधिको तर्क छ ।

कांग्रेसले सरकार लोकतान्त्रिक चरित्र गुमाउदै गएको पनि आरोप लगाएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध हुनेगरी, समाचार लेखेको भरमा, प्रश्न सोधेको भरमा पत्रकारमाथि गैरव्यावसायिक काम सरकारले गरेको निष्कर्ष कांग्रेसले निकालेको छ ।

संविधान जारी भएपछि तीनै तहको निर्वाचन सम्पन्न भई प्रदेश सरकार बनेको सात महिना बित्दासमेत दुईटा बाहेक अन्य प्रदेशको नामकरण हुन नसकेको, प्रदेश राजधानीको टुंगो नलागेको, संघीय सरकार र प्रदेश सरकारबीच द्वन्द्व बढेकोजस्ता क्रियाकलापले संघीयता प्रभावकारी रुपमा कार्यन्वयनमा आउन नसकेको उनको भनाई छ । मधेसी जनताको भावनाअनुसार संविधान संशोधनको प्रकृया अघि नबढाईएको र संविधान कार्यन्वयनमा सरकारको इमानदारिता नेखिएको उनको आरोप छ ।

‘संविधान दिवस मनाईरहँदा सरकारमै बसेर कसैले यो दिवस नमान्ने, नमनाउने, कतिपयले कालो दिन नै घोषित गर्ने दुनियाँमा कही नभएको विचत्रको चित्र प्रस्तुत भइरहेको छ,’ पत्रकार सम्मेलनमा बाँडिएको विज्ञप्तिमा भनिएको छ, ‘यस्तो स्थिती बन्न बर्तमान सरकारको नेतृत्वकै असफलता हो भन्ने हाम्रो ठहर छ ।’

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार शान्ति सुरक्षा कायम गर्ने दिशामा असफल भएको प्रवक्ता शर्माको भनाई छ । ‘यो सरकार बनेपछि बितेका सात महिनामा शान्ति सुरक्षाको स्थिति अत्यन्तै बिग्रीएर गएको छ र सरकार सबैभन्दा बढी असफल यो प्रकरणमा भएको छ,’ निर्मला बलत्कार र हत्या प्रकरणतिर संकेत गर्दै शर्माले भने, ‘दोषीलाई जोगाउन र निर्दोषलाई दोषी करार गर्न खोज्ने, न्याय माग्दा गोली चलाउने र अर्को बालक मारिने अवस्था सृजना भएको छ ।’

प्रतिक्रिया दिनुहोस्