बारा–पर्साको हुरी ‘टोर्नाडो’, नेपाली नाम खोजिँदै



काठमाडौं : जल तथा मौसम विज्ञान विभागले चैत १७ मा बारा र पर्सामा आएको भीषण हावाहुरी टोर्नाडो भएको पुष्टि गरेको छ । विभागका अनुसार नेपालमा पहिलो पटक टोर्नाडो आएको हो । विभागले त्यसको नेपाली नाम खोजी भइरहेको जनाएको छ ।

विभागले बुधबार जल तथा मौसम पूर्वानुमान महाशाखामा पत्रकार सम्मेलन गरी भूउपग्रहबाट प्राप्त उच्च रिजोलुसनका तस्बिर, स्थलगत अवलोकन र भिडियोको सूचना अध्ययनले त्यो दिनको हावाहुरी टोर्नाडो भएको पुष्टि भएको जनाएको छ । 

विभागका महानिर्देशक सरजकुमार वैद्यका अनुसार विभागको नेतृत्वमा द स्मल अर्थ नेपाल र एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) का वैज्ञानिकहरूको टोलीले घटनालगत्तै चार दिनसम्म प्रभावित क्षेत्रको स्थलगत अध्ययन गरेको थियो ।

अध्ययनमा सहभागी विभागकी वरिष्ठ मौसमविद् अर्चना श्रेष्ठले टोर्नाडो चितवन निकुञ्जमा सुरु भएको जानकारी दिइन् । पर्साको जगनाथपुरमा बलियो स्वरूप लिएको टोर्नाडो बाराको बौरियामा गएर कमजोर अवस्थामा विसर्जन भएको थियो ।

श्रेष्ठले हरिया रुखलाई फनफनी घुमाउनु, ढलान घरको छतलाई घुमाएर ८० मिटर टाढा फयाँक्नु, लोड गरिएको ट्रक घुमाएर पल्टाउनु, पानी तान्ने पम्प उखेल्नु र बाँसका झाङ उखेल्नुलगायत घटना टोर्नाडोले मात्र गर्न सक्ने बताइन् ।

नास्टका प्राज्ञ तथा विभागका पूर्वमहानिर्देशक मदनलाल श्रेष्ठले टोर्नाडोले सोली आकारमा उच्च गतिमा सतहमा आउँदा जे भेट्यो, त्यही आफूतिर तान्ने हुँदा बारा र पर्सामा बढी क्षति हुन पुगेको उल्लेख गरे । ‘टोर्नाडो साँघुरो क्षेत्रफल भएर आउँछ र जहाँ छुन्छ, त्यहाँ विध्वंस मच्चाउँछ,’ श्रेष्ठले भने ।

उनले टोर्नाडोको गति प्रतिघण्टा २ सय किलोमिटरभन्दा बढी भएको बताए । विभागले टोर्नाडोको आकार, चौडाइ, वेग र तीव्रताबारे विस्तृत अध्ययन गरिरहेको महानिर्देशक वैद्यले बताए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्