लोकसभा चुनाव २०१९ : मोदीको पाँच वर्षे कार्यकालको परीक्षा, मैदानमा राहुल गान्धी



काठमाडाै‌ं : भारतीय लोकसभा चुनाव बिहीबारदेखि सुरु हुँदैछ । सात चरणमा हुने चुनावको पहिलो चरण बिहीबारदेखि सुरु हुन लागेको हो । यसपटकको चुनावमा ९० करोड भन्दा बढि मतदाताले ५ सय ४३ लोकसभा सिटका लागि मतदान गर्दै छन् । भारतको चुनावमा मतदान योग्य व्यक्तिको संख्या विश्वको कुल जनसंख्याको १० प्रतिशत भन्दा बढी हो ।

भारत सन् १९४७ मा बेलातबाट स्वतन्त्र भएपछि पहिलो पटक सन् १९५१–५२ मा चुनाव भएको थियो । अहिले चुनावमा मतदान योग्य रहेका मतदाताको संख्या अमेरिकाको भन्दा झण्डै चार गुणा बढि हो । जनसंख्या या मतदाताका हिसाबले प्रजातान्त्रिक अभ्यास गर्ने देशमा भारतपछि अमेरिका दोस्रो स्थानमा आउँछ ।

यो चुनावमा जुन पार्टीले जित्छ उसले आगामी पाँच वर्ष विश्वको ठूलो प्रजातान्त्रिक देशको नेतृत्व सम्हाल्ने छ । यसलाई अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदीको समीक्षाका रुपमा पनि लिइएको छ ।

अर्थतन्त्रका हिसाबले पनि भारत विश्वको शक्ति राष्ट्रमा पर्छ । अहिले भारतको जनसंख्या १.३४ बिलियन भन्दा बढि छ र चाँडै नै १.३९ बिलियन जनसंख्या रहेको चीनलाई उछिन्दै विश्वको सबैभन्दा बढि जनसंख्या युक्त देश बन्ने देखिएको छ । 

सन् २०१४ को चुनावमा भन्दा यसपटक ८३ मिलियन मतदाता थपिएका छन् । सात चरणमा हुने चुनावका लागि १० लाख मतदान केन्द्र तोकिएका छन् । मे १९ अर्थात ३९ दिन लगाएर हुने मतदानको मतगणना मे २३ हुने कार्यतालिका छ ।

निर्वाचित भएका लोकसभा सदस्यबाटै सबैभन्दा ठूलो दल अर्थात बहुमत ल्याउने दलका नेता प्धानमन्त्री बन्ने छन् । यस्तो हुन नसकेमा गठबन्धनका नेता प्रधानमन्त्री बन्ने छन् । अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदीका मुख्य प्रतिद्वन्द्वीका रुपमा कांग्रेसका राहुल गान्धी रहेका छन् ।

भारतको संसदमा लोकसभा र राज्यसभा गरि दुई सदन छ । लोकसभा सबैभन्दा शक्तिशाली छ । लोकसभामा रहेका ५४३ सिट मध्य बहुमतका लागि २७२ सिट चाहिन्छ । पछिल्लो चुनाव अर्थात सन् २०१४ को चुनावमा नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी (बिजेपी) ले २८२ सिट जितेको थियो । यस्तै राहुल गान्धीको पार्टी कांग्रेसले ४४ सिट मात्रै जितेको थियो । कांग्रेसले सन् २००९ को चुनावमा २०६ सिट जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्