जग्गा हेर्न पुगेका व्यक्तिले गरेको कुटपिटबाट एक जनाको मृत्यु



काठमाडौं : भक्तपुरमा जग्गा हेर्न पुगेका व्यक्तिहरूको कुटपिटबाट एक जनाको ज्यान गएको छ ।

हिजो (बुधबार) चाँगुनारायण नगरपालिका ८ सुँडालका ६१ वर्षीय चन्द्रकुमार योन्जनमाथि जग्गा किन्न भनि आएका दुई जना अपरिचित व्यक्तिले कुटपिट गरेका थिए ।

उनको आज (बिहीबार) बिहान काठमाडौंस्थित ग्रिनसिटी अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण थेबेले जानकारी दिए ।

जग्गा हेर्न आएका दुई जनाले योन्जनलाई घरबाट एक-डेढ किलोमिटर टाढा जग्गा देखाउन भनि लगेका थिए । तर एक्कासि उनीहरूले मरणासन्न हुने गरी कुटपिट गरी त्यहीँ छाडेर भागेको परिवारले जनाएको छ ।

उनीमाथि साढे पाँच बजे कुटपिट भएको थियो । यद्यपी प्रहरीलाई भने बेलुकी मात्रै खबर पुगेको डिएसपी थेबेले बताए । घाइते योन्जनलाई उपचार गर्न मध्यपुर थिमी अस्पताल लगिएको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि राति काठमाडौं रिफर गरिएको थियो । डिएसपी थेबेका अनुसार योन्जन जग्गा किनबेचको काम गर्थे । उनीमाथि कुटपिट हुनुको कारण नखुलेको परिसरका प्रहरी उपरीक्षक तारादेवी थापाले जानकारी दिइन् ।

उनले भनिन्,‘उनीमाथि कुटपिट गर्नेहरू फरार रहेका छन् । उनीहरूको खोजी भइरहेको छ, अहिले कारण पनि खुल्न सकेको छैन ।’

प्रकाशित : २२ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्