यस वर्षको दशैँमा प्रहरीले बिदा नपाउने



काठमाडौं : यस वर्षको दशैँमा प्रहरीले बिदा नपाउने भएका छन् । कोरोना महामारीविरुद्धको अभियान र शान्ति सुरक्षामा परिचालन हुनुपर्ने भएकाले प्रहरीले दशैँ बिदा नपाउने भएका हुन् । तर सुत्केरी, किरीयालगायत अत्यावश्यक बिदा भने पाउनेछन् ।

प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले पछिल्लो समय मुलुकमा कोरोना संक्रमणको जोखिम बढेको र विगतको तुलनामा सक्रियता समेत बढाउनुपर्ने भएपछि अत्यावश्यक बाहेक बिदामा रोक लगाइएको बताए ।

अघिल्लो वर्षहरुमा पनि दशैँमा बिदामा कडाइ गरिँदै आएको उनले बताए । त्यसोत प्रहरीमा ७९ हजारको दरबन्दी कायम भए पनि १२ हजार बढी दरबन्दी रिक्त छ ।

शान्ति सुरक्षा र अपराध अनुसन्धानमा सक्रिय रहने प्रहरीमा सुरक्षा संगठनकै सबैभन्दा बढी कोरोना संक्रमित छन् । प्रहरीमा हालसम्म ४८ सयको हाराहारीमा कोरोना संक्रमित पुगिसकेका छन् । त्यसैले पनि प्रहरीलाई विगतको तुलनामा भार बढेको हो । संक्रमण देखिएका प्रहरी डिस्चार्ज भएपछि थप एक साताको आरामपछि मात्रै काममा फर्किने गरेका छन् । सबैभन्दा बढी संक्रमित काठमाडौं उपत्यकामै देखिएको छ ।

“दशैँलगायत चाडपर्वमा प्रहरी सक्रियता बढी चाहिन्छ । अन्य समयभन्दा जाँचलगायत काम पनि बढी हुन्छन् । उपत्यकाको हकमा भन्ने हो भने धेरैजसो मानिस घर छाडेर दसैं मनाउन गाउँ जान्छन् । यस्तोमा चोरीलगायतका अपराधिक घटना बढी हुने सम्भावना रहन्छ । त्यसैले हाम्रो सक्रियता र जनशक्ति परिचालन पनि बढी हुन्छ,” प्रवक्ता कडायतले भने ।

चाडपर्वको समयमा चोरी, लुटपाटलगायत घटना बढी हुने भएकोले पछिल्लो समय देशभरकै सुरक्षा सतर्कता बढाइएको प्रवक्ता कडायतले बताए ।

नियमित परिचालित भएको जनशक्तिसँगै रिजर्भ फोर्सलाई समेत परिचालन गरिएको कडायतले बताए ।

यसैगरी सीमा नाकामा कुकुरबाट जाँचदेखि सादा पोसाकका प्रहरी परिचालन बढाइएको छ भने बसपार्क र बढी भिड हुने स्थानमा समेत प्रहरी सक्रियता बढाइएको छ ।

प्रकाशित : असोज २२, २०७७

प्रतिक्रिया दिनुहोस्