स्मार्ट लाइसेन्सको ठेक्का फेरि मद्रासलाई



काठमाडौं : स्मार्ट कार्ड र मास प्रिन्टर आपूर्ति तथा वितरणको ठेक्का पुन: भारतीय मद्रास सेक्युरेटी प्रिन्टर्सले पाउने भएको छ। यातायात व्यवस्था विभागले गरेको मूल्यांकनमा सबैभन्दा अब्बल देखिएकाले पुन:उसैलाई ठेक्का दिन लागिएको हो।

विभागले १० लाख स्मार्ट कार्ड र एउटा मास प्रिन्टर खरिद गर्न भदौमा बोलपत्र आह्वान गरेको थियो। बोलपत्र प्रक्रियामा तीन कम्पनीले प्रस्ताव पेस गरेका थिए। भारतको मद्रास सेक्युरेटी प्रिन्टर र फ्रान्सका आईडीईएमआई र एसईएलपी कम्पनी बोलपत्र प्रक्रियामा सहभागी थिए।

विभागले बोलपत्र कागजात, व्यापारिक पक्ष, योग्यता, प्राविधिक र आर्थिक पक्षका आधारमा प्रस्ताव मूल्यांकन गरेको थियो। यी पाँच विषयलाई आधार बनाएर हेर्दा मद्रास सक्षम देखिएकाले विभागका प्रमुख श्रीचन्द्र शाहले जनकारी दिए। मद्राससँग आपूर्ति तथा वितरण प्रक्रिया अघिबढाउन विभागले बुधबार सूचना जारी गरेको छ।

मद्रासले १९ लाख ७० हजार दुई सय अमेरिकी डलरमा स्मार्ट कार्ड र मास प्रिन्टर आपूर्ति तथा वितरण गर्ने प्रस्ताव गरेको छ। यो सूचना जारी भएको सात दिनभित्र मद्रासले विभागसँग सम्झौताका लागि आसयपत्र पेस गनुपर्ने हुन्छ। आसयपत्र पेस गरेको १५ दिनभित्रमा ठेक्का प्रक्रियाअघि बढ्ने शाहले बताए।

ठेक्का प्राप्त गर्ने कम्पनीले दुई चरणमा स्मार्ट कार्ड वितरण गर्नुपर्ने हुन्छ। लाइसेन्स छपाइसम्बन्धी मापदण्डमा हस्तान्तरण भएको मितिको ६० दिनभित्र ४० प्रतिशत स्मार्ट कार्ड, ७५ दिनमा मास प्रिन्टर र एक सय ५० दिनमा थप ६० प्रतिशत कार्ड विभागलाई हस्तान्तरण गर्नुपर्ने हुन्छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ।

प्रतिक्रिया दिनुहोस्