न्यायाधीश सिफारिसले दुष्परिणाम निम्त्याउने चेतावनी



काठमाडौं : पूर्वप्रधानन्यायाधीश र न्यायाधीशहरूको साझा फोरमले सर्वोच्च र उच्च अदालतका न्यायाधीश सिफारिसमा सामान्य कानुनी प्रक्रियासमेत पालना नभएको भन्दै भविष्यमा दुष्परिणाम निस्कने चेतावनी दिएको छ।

पूर्वप्रधानन्यायाधीश केदारनाथ उपाध्यायसहित बुधबार बसेको पूर्वन्यायाधीश फोरमको बैठकले न्यायाधीश सिफारिसका कारण योग्य र सक्षम न्यायाधीश हतोत्साहित हुने स्थिति सिर्जना भएको निष्कर्षसमेत निकालेको छ।

न्यायाधीश सिफारिसबारे उत्पन्न परिस्थितिको समीक्षा गर्न पूर्वप्रधानन्यायाधीश उपाध्यायसहित पूर्वन्यायाधीशहरू टोपबहादुर सिंह, एकराज आचार्य, शम्भूबहादुर खड्का, सहदेवप्रसाद बास्तोला, गोविन्दप्रसाद पराजुली, दुर्गाप्रसाद उप्रेती, अली अकबर मिकरानी, सुरेन्द्रवीरसिंह बस्न्यात, गोविन्दकुमार श्रेष्ठ, राजेन्द्रकुमार पोखरेलसहित सर्वोच्च र उच्चका पूर्वन्यायाधीश छलफलमा जुटेका थिए।

‘न्यायाधीश सिफारिसको निर्णयबाट इमान्दार र कर्तव्यनिष्टलाई तल पारियो। हतोत्साहित गर्ने काम भयो,’ फोरमका अध्यक्ष पूर्वप्रधानन्यायाधीश उपाध्यायले भने, ‘यस्तो निर्णयले न्यायपालिकाको गरिमामा आँच पुग्छ भन्ने हाम्रो निष्कर्ष हो। परिषद्बाट निर्णय भइसके पनि सुनुवाइ समितिले विचार गर्न सक्छ। न्यायाधीश, बार, कर्मचारी संगठनको चिन्ता र चासोमा हाम्रो पनि ऐक्यबद्धता छ।’

सिफारिसले न्यायपालिकाको गरिमामा आँच पुगेको ठहरसमेत गरिएको छ। ‘न्यायिक क्षेत्रसम्बद्ध इमान्दार तथा सक्षम व्यक्ति हतोत्साहित हुन सक्ने र न्यायसम्पादनमा दुष्परिणाम निम्तिन सक्ने निश्चित छ’, बैठकपछि न्यायाधीश फोरमको निष्कर्षसहित जारी विज्ञप्तिमा उल्लेख छ। फोरमले यस विषयमा गम्भीर भई उत्तरदायी हुनसमेत सम्बद्ध सबैसँग आह्वान गरेको छ।आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्