आक्रोशित बिरामीको प्रश्न– ‘डाक्टरले धर्म छाड्ने ?’



पर्सा : बारा मटिअर्वाका ५२ वर्षीय महिन्दर महतो २५ किलोमिटर यात्रापछि बुधबार बल्लतल्ल वीरगन्ज उत्रिए । नसाको रोगले देब्रे हातमा समस्या भएकाले डाक्टरलाई देखाउनु थियो । सरासर नारायणी उपक्षेत्रीय अस्पताल पुगे ।

सधैं बिरामीले भरिभराउ रहने अस्पताल परिसर बुधबार सुनसान देख्दा उनी छक्क परे । सोधखोज गरेपछि थाहा पाए– डाक्टरहरू काम बन्द गरेर हडतालमा उत्रिएका रहेछन् ।

‘मलाई डाक्टरहरूले हडताल गरेका छन् भन्ने नै थाहा भएन,’ उनले भने, ‘हाम्रा लागि सबैभन्दा भरपर्दो अस्पताल नै यही हो, नारायणी भनेपछि आँखा चिम्लेर विश्वास गर्छौं, सरकारी अस्पतालकै चिकित्सकले काम ठप्प पारे पछि हामीजस्ता निमुखाको स्वास्थ्यको कसले ख्याल गरिदिने ।’

मामा महिन्दरलाई लिएर आएका वीरगन्ज ११ श्रीपुरका भान्जा सुनील महतो पनि आक्रोशित थिए । ‘मामा उपचार गराउन भनेर आउनुभयो, अस्पताल आउँदा त एउटा पनि डाक्टर भेटिएनन्,’ उनले भने, ‘डाक्टरलाई त भगवान् भनिन्छ, भगवान् नै आफ्नो धर्म छोडेर हिँडे बिरामीको चिन्ता कसले गरिदिने ।’

पर्साको बहदुरमाई नगरपालिका पिपराबाट ३ वर्षे छोरा आदित्य पटेलको खुट्टाको उपचार गराउन आएका श्यामबाबु पटेल पनि कहाँ डाक्टर भेटिन्छन् भनेर भौतारिँदै थिए । छोराको देब्रे खुट्टा भाँच्चिएकाले उनलाई पर्नु पिर परेको थियो ।

भाँच्चिएको खुट्टाको एक्सरे बोकेर यताउता कुदिरहेका उनले पनि एउटै डाक्टर फेला पार्न सकेनन् । ‘खै के गरूँ, कहाँ जाऊँ जस्तो भएको छ,’ उनले भने, ‘फर्केर जाऊँ छोरो ऐय्या–ऐय्या गरेर रोइरहेको छ, भोलि आउँदा पनि यसै गरी समय र पैसा बर्बाद हुने त होला नि, डाक्टरले नै हडताल गरिदिए बिरामी कहाँ जाने ?’

सरकारी चिकित्सक संघको आहवानमा भइरहेको आन्दोलनअन्तर्गत यहाँका चिकित्सकले आकस्मिकबाहेकका सेवा ठप्प पारेका हुन् । यस अस्पतालको बहिरंग विभागमा दैनिक ठूलो संख्यामा बिरामी आउँछन् । मध्य तराईका पर्सा, बारा, रौतहट, सर्लाहीसम्मका बिरामीको उपचार गन्तव्य वीरगन्ज रहँदै आएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्