३३४ सांसदको भिडियो बायोग्राफी बन्दै



काठमाडौं : संघीय संसद्ले प्रतिनिधिसभा र राष्ट्रिय सभाका ३ सय ३४ सांसदको ‘भिडियोबायोग्राफी’ बनाउन सुरु गरेको छ । सबै सांसदहरूको व्यक्तिगत तथा राजनीतिक जीवन, विगतको राजकीय जिम्मेवारी, दक्षता, विज्ञता, रुचि र सामाजिक जिम्मेवारी तथा सम्मानसहितको बायोग्राफी बनाउन सुरु गरिएको उपसभामुख शिवमाया तुम्बाहाम्फेले जानकारी दिइन् । 

‘माननीयज्यूहरूले आफ्नै आवाजमा रेकर्ड गर्नुहुन्छ,’ उनले भनिन्, ‘यसो गर्दा कमै त्रुटि हुन्छ ।’ भिडियो ३ देखि ५ मिनेटसम्मको हुने जनाइएको छ । संघीय संसद् भवनकै सुविधानसम्पन्न स्टुडियोमै सांसदहरूलाई बोलाएर बायोग्राफी रेकर्ड गर्न थालेको उनले बताइन् ।

संसद् सचिवालयका अनुसार हालसम्म प्रतिनिधिसभा र राष्ट्रिय सभाका ८८ सांसदहरूले आफ्नो अभिलेखीकरण दर्ता गराइसकेका छन् । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वगृहमन्त्री भीम रावल, पूर्वसभामुख ओनसरी घर्ती, महिला तथा बालबालिकामन्त्री थममाया मगरले रेकर्ड गरिसकेका छन् । राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्षको पनि भिडियोबायोग्राफी रेकर्ड भइसकेको छ ।

‘सबैलाई जानकारी दिइसकेका छौं,’ उनले भनिन्, ‘सकभर यहीं बोलाउँछौं, यदि कुनै कारणले आउन सकेनन् भने निवासमै गएर भए पनि रेकर्ड गराउँछौं ।’ संसद् सचिवालयका अनुसार प्रधानमन्त्री केपी ओलीले वैशाख पहिलो साताभित्र आउने आश्वासन दिएका छन् ।

तीन महिनाभित्र सबै काम सक्ने योजना रहेको र त्यसपछि संघीय संसदको वेबसाइटमा सार्वजनिक हुने जनाइएको छ । संसदकै जनशक्ति उपयोग गरेर काम भइरहेको उपसभामुख तुम्बाहाम्फेले जानकारी दिइन् । हाल सांसदहरूको परिचयपुस्तक पनि छ ।

प्रतिक्रिया दिनुहोस्