मौसम अनुसार स्वस्थ रहने १० उपाय



काठमाडाैं : नेपालमा गर्मीको सिजन सुरु भएको छ । समय र मौसम अनुसार आफ्नो स्वास्थ्यको ख्याल गर्न आवश्यक हुन्छ । अहिलेको समय सुख्खा हुने तथा हावाहरी पनि चल्ने समय हो । गर्मीको समयमा विभिन्न किसिमका स्वास्थ्य समस्याहरु बढि देखिन्छन् । 

हामीले अनुभव गरेकै छौं, गर्मी बढेसँगै खानेकुरा पच्दैन, फूड प्वोइजन हुन्छ । यहिबेला हो, छालाको संक्रमणदेखि टाउको दुख्नेसम्मको समस्या हुने । गर्मीमा शरीर आलस्य हुन्छ । थकाई लाग्छ । यस्तै झिँगाबाट फैलने रोगहरु लाग्ने, लामखुट्टेले टोक्ने, साङ्लाले दुःख दिने समय पनि गर्मीमै बढि हुन्छ ।

त्यसैले यस समयमा आफ्नो स्वास्थ्यको ख्याल गर्न निम्न उपायहरु अपनाउन सकिन्छः

१. गर्मीमा बढी पसिना आउने भएकाले शरीरमा पानीको कमी हुनसक्छ । पर्याप्त मात्रामा पानी वा झोलयुक्त पदार्थ पिउने ।

२. आँखाको सुरक्षाको लागि सनग्लास प्रयोग गर्ने, आँखालाई धुलो, धुवाँ आदिबाट बचाउने ।

३. मौसम अनुसारको सागपात, फलफूलको सेवन गर्ने । सडेगलेको, बासी, जथाभावी राखिएको खानेकुरा नखाने ।

४. सकेसम्म घर बाहिरको खानेकुरा सेवन नगर्ने । फूटपाथको खानेकुरा, जस्तै चटपटे, पानीपुरी, मम, चाउमिन जस्ता खानेकुराले पाचन प्रणालीलाई खराब गर्न सक्ने भएकाले यस्ता खानेकुरा सकेसम्म नखाने ।

५. सरसफाईमा विशेष ध्यान दिने । पसिना बग्ने, धुलो–धूँवा शरीरमा टाँसिने भएकाले नियमित नुहाउने ।

६. घरबाहिर निस्कँदा पुरै शरीर ढाक्ने पहिरन लगाउने । धुलो, धूँवा तथा घामको सोझो किरणबाट छालालाई जोगाउने ।

७. आफ्नो घर, आँगन वा आफू बसोबास गर्ने आसपासको क्षेत्र सफा, सुग्घर राख्ने ।

८. पानी जम्ने खाल्डाखुल्डी, फोहोरको थुप्रो, कुहिएका बस्तुहरु हटाउने ।

९. रातमा सुत्दा झुलको प्रयोग गर्ने । लामखुट्टेको टोकाईबाट बच्न धूपलगायतका हानिकारक चिजहरुकाले प्रयोग नगर्ने ।

१०. बालबालिका, सुत्केरी, वृद्धवृद्धा तथा रोगीहरुको विशेष ख्याल गर्ने, उनीहरुको खानपान तथा नियमित सरसफाईंमा ध्यान दिने ।

प्रतिक्रिया दिनुहोस्