बल प्रयोग गरेर भए पनि देशभरका अस्पताल सञ्चलान गराउँछाैंः मन्त्री पण्डित



धनगढी : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बल प्रयोग गरेर भए पनि देशभरका अस्पताल सञ्चलान गर्ने बताएका छन् । ‘भएको सहमति विपरित सरकारलाई घुडा टेकाउँछु भनेर डाक्टरले व्यवहार गर्ने ?’, आक्रोशित हुँदै भने, ‘सरकार कसैको पनि दया माया नगरेर कडा रुपमा प्रस्तुत हुने छ ।’ 

प्रेस क्लव धनगढीले बिहिबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले कानुन अनुसार सरकारले डाक्टरलाई कारवाही गर्न सुरु गरिसकेको तर्क गरे । ‘अबको निकास भनेको बल प्रयोग गरेर अस्पताल सञ्चलन गर्ने हो’, उनले भने, ‘डाक्टरलाई बोलाएर सबै प्रश्नको सुनुवाई सरकारले पहिले नै गरिसेकेको छ ।’ डाक्टरका सेवा सुविधा नघट्ने लगायत सबै कुरामा सहमति भइसकेको उनले बताए । 

पेशागत मर्यादा भन्दाबाहिर गएर राखेको माग पुरा नहुने पत्रकार सम्मेलनमा अवगत गराए । ‘साइन बोर्ड देशभर राख्ने तर व्यक्ति काठमाडौँमा कुनै हालतमा हुँदैन’, मन्त्री पण्डितले भने ।राष्ट्रको सामु खाएको सपथ अनुसार अगाडि नबढेमा सरकारले कारवाही गर्ने उनले बताए । हिजोको जस्तै केन्द्रमा बसिरहन्छु भनेर कसैले पनि नसोच्न उनले सबैलाई आग्रह गरे । ‘हिजोको जस्तै केन्द्रमा नै बस्न सरकारले कुनै हालतमा दिने छैन’, उनले भने, ‘सरकारले सेवा सुविधा सहित पठाएको ठाउँमा डाक्टर जानुपर्छ ।’ 

प्रतिक्रिया दिनुहोस्