म्याग्दी : म्याग्दीको बेनी नगरपालिका वडा नं ६ बास्बोटका सर्वसाधारणले वर्षौदेखि खानेपानी अभाव झेलिरहेका छन् । पशु चौपाया र करेसाबारीलाई मात्रै होइन, तिर्खा लागेको बेला स्थानीयले धित मरुन्जेलसम्म पानी पिउन समेत पाउँदैनन् ।
जिल्ला सदरमुकाम बेनी बजारदेखि करिब १ घण्टाको दुरीमा रहेको बास्बोट गाउँमा पानीको स्रोत नहुँदा एक गाग्री पानीका लागि स्थानीय रातभर लाइन बस्न बाध्य भएका छन् । बेनी नगरपालिका ६ का एकपाते, बाँस्बोट, पिपलबोट र खेताघर बस्तीका ४० घरधुरीले बर्षौदेखि पानीको समस्या झेल्दै आएका हुन् ।
बाँस्बोटका दुर्गाप्रसाद पौडलेलले नियमित मोटरसाइकलमा पानी बोकेर समस्या टार्ने गरेका छन् । दुग्ध व्यवसायी पौडेलले बिहान र बेलुका गरी दैनिक दुई पटक मोटरसाइकलमा अग्नि खेत र बेनीबाट नै पानी बोकेर समस्या समाधान गर्ने गरेको बताउँछन् ।
‘मिल्क क्यान (दूध बोक्ने भाँडो)मा पानी बोकेर पशु चौपाया र हामीले खाने गरेका छौँ,’ पौडेलले भने, ‘गाउँमा पानीको स्रोत छैन,वर्षौँदेखि यसरी नै चलाइरहेको छौँ ।’
सवारी साधन भएकाहरूले ती साधनमार्फत पानी बोकेर गुजारा चलाउने भए पनि साधन नभएकाहरू राती अबेरसम्म लाइन लागेर पानी भर्न बाध्य छन् । गाउँमा रहेको एउटा सानो धारोमा सिङ्गो बस्तीका बासिन्दा निर्भर रहनुपर्दा ठूलो समस्या भएको एकपाटेकी मनरुपा पौडेलले बताइन् ।
‘अरू समय सधैँ भीड मात्र रहने हुँदा मैले राती सबै सुतेपछि पानी बोक्ने गरेकी छु,’ पौडेलले भनिन्, ‘गाउँको प्रमुख समस्या नै खानेपानीको हो, पानीको मूल नहुँदा २४सै घण्टा पानीको जोहोमा लाग्नु पर्ने बाध्यता छ ।’ एक गाग्री पानीको लागि घण्टौँ लाइनमा बस्नु पर्ने बाध्यताले गर्दा स्थानीय आजित भएका छन् भने कतिपयले बसाइ सरेर अन्यत्र जाने तयारी गरेका छन् ।
गाउँ आसपासमा रहेका पानीका मुहान सुक्न थालेपछि आधा÷एक घण्टाको दुरीमा पानी लिन जाने बाध्यता आइपरेको भोयनाथ पौडेलले सुनाए ।
गाउँ आसपासमा पानीका कुनै स्रोत नभेटिएपछि बेनी नगरपालिका ५ को चिप्लेटी र पुलाचौरमा पानीको स्रोत भएको खेत नै किनेर खानेपानीको समस्या समाधान गर्ने योजना वडाले बनाएको छ । ‘स्थानीयको समस्या समाधान गर्न निरन्तररुपमा पहल गरे पनि त्यो सफल नभएकोले अव पानीको स्रोत भएको खेत (जग्गा) नै किनेर भए पनि यहाँका बासिन्दाहरूको समस्या समाधान हुन्छ’ वेनपा ६ का अध्यक्ष कृष्णबहादुर बानियाँले भने ।