कोरोना संक्रमितसँगको २ हप्ता



म कार्यरत अस्पतालमा १५ ओटा वेडहरूसहित कोभिड–१९ विरामीहरूलाई सेवा दिनको लागि कोभिड आइसोलेशन वार्ड भनेर छुट्टै भवनको व्यवस्थापन गरिएको छ । म (सम्झना लामा), मेरो सहकमी नर्स सविना श्रेष्ठ र सहयोगी भाई सुन्दर थापा २ हप्ताको लागि २४ घण्टा सेवा दिनका लागि प्रथम समूहमा यहाँ आयौं ।

घरमा श्रीमान, छोरा र छोरी छाडेर कोभिड आइसोलेशन वार्डमा काम गर्न आउँदा श्रीमानले अंगालो हाल्दै प्रार्थना गरिदिनु भयो । त्यसबेला म उहाँमा मेरा लागि डर र चिन्ता महशुस गर्न सक्थे । परिवारसँग विदा हुँदै हात हल्लाउँदा मेरा आँखा रसायो । त्यो आसु लुकाएर आफ्नो कार्यक्षेत्रमा आए ।

मैले २ हप्ता डियुटी गर्दा ८ जना विरामीहरू भर्ना हुनु भएको थियो ।

पहिलो पटकको अनुभव मैले सुनाउन चाहे ।

त्यती बेला बेलुकाको ७ बजेको थियो । विरामीहरूलाई औषधी दिनको लागि जानु पर्थ्यो । हामीले पीपीई लगाउने ठाँउ अलि अध्यारो थियो । पीपीई लगाएर विरामीको वार्ड जाने ढोका खोले ।

उज्यालो कोठा ।

बत्ति सबै बलेका ।

अनि अगाडी कोभिड–१९ का विरामी ।

त्यती बेला मलाई कस्तो भयो म शब्दमा भन्न पनि सक्दिन । हामी भन्छौं नि ‘कस्तो कस्तो’ जुन शब्दमा कहिले व्याख्या गर्न सकिदैन् । हो त्यस्तै भयो ।

अध्यारो ठाँउबाट अचानक उज्यालो अनि कोरोना पोजेटिभ विरामी आफ्नै अगाडी । मैले छिटो छिटो औषधी दिए र भाइटल जाचेर अर्को ढोकाबाट बाहिर निस्के । पीपीई खोले र नुहाउन गईहाले ।

डर लागेको थियो ।

समाचारमा सुनेको, टेलिभिजनमा देखेको कोरोनाको विरामीको सेवा म थिए । उनीहरूको जिम्मेवारी मलाई थियो ।

सबै जना विरामीहरू डराएर आउनु भएको मैले महशुस गरे । त्यो पीपीई लगाएर परामर्श दिन एकदमै गाह्रो थियो । विरामीहरू प्राय ६ः३० देखि ७ बजे आइपुग्नु हुन्थ्यो । परामर्श दिँदा, वेडमा राख्दा, ओरेन्टेसन दिँदा एउटा विरामीलाई लगभग १ देखि २ घण्टाको समय दिनुपर्थ्यो ।

उहाँहरूलाई ज्वरो नाप्न र अक्सीमिटर हेर्न सिकाउन एकदम गाह्रो थियो । बुझ्दै नबुझ्ने । परमर्श दिन पनि त्यत्तिकै कठिन ।

विरामीहरूले सिस्टर– ‘मलाई डर लागि रहेको छ । मलाई केही त हुँदैन नि । म निको त हुन्छु नि’ भनेर पटक पटक सोध्नु हुन्थ्यो ।

अनि म उहाँहरूलाई भन्थे– ‘केही पनि हुँदैन । यो कोरोना भन्दा पनि बलियो तपाई हुनुहुन्छ । योसँग तपाई लडाई लडिरहनु भएको छ । अबको ५–६ दिनसम्म अझै लड्नु । तपाईहरूको हतियार चाही तातो पानी, स्वास्थ्य खानेकुरा, अक्सीजन, औषधी अनि बलियो आत्माबल । यो हतियार सधै प्रयोग गर्नु । तपाईले यसलाई अवश्य हराउनु हुन्छ ।’

अनि तपाईलाई लड्ने बेला चाहेको तागत, बल र उपचार दिने काम मेरो भनेर भन्थे म । अनि विरामीहरू हाँस्नुहुन्थ्यो । अनि म पनि ।

विरामीहरू डराउनु भएकाले पनि मेलै उहाँहरूको आत्माबल बढाउनु पर्ने जरुरी मैले ठाने । त्यसपछि मैले उहाँहरूको ‘भाइटल साइन’ लिन जाँदा– ‘ओहो तपाईलाई आज कस्तो राम्रो देखिएको अस्ती आएको भन्दा । अब २–३ दिनमा निको हुनुहुन्छ’ भन्दै ढाडस दिन्थे अनि उहाँहरू आशावादी देखिनु हुन्थ्यो ।

तपाईहरूलाई केही पनि हँदैन् । केही भएमा हामी छौं नि भनेर भन्दा उहाँहरू ढुक्क महशुस गर्नुहुन्थ्यो ।

विरामीहरू सानो कुराले पनि डराउने भएकाले परामर्श दिइरहनु पर्थ्यो । दिन दिनै एउटै कुरा भन्नु पर्थ्यो ।

हरेक पल्ट बिरामीलाई भेटेपछि पीपीई खोलेर हामी नुहाउने ग¥थ्यौं । जुन कहिले ८ बजेको हुन्थ्यो त कहिले रातीको ११ । त्यसपछि आफैलाई चिसो लागेर कोरोनासँग मिल्दोजुल्दो लक्ष्ण देखिन्थ्यो । अनि कतै मलाई पनि कोरोना त भएन भन्ने महशुस हुन्थ्यो । मुटु ढुकुढक भए जस्तो, छाती दुखेजस्तो । खोकी लाग्ने अनि राति निन्द्रा नलाग्ने । अनि बिरामी सम्झन्थे । उहाँहरू आत्मिय लाग्थ्यो ।

सबै भन्दा खुसीको कुरा सबै सहकर्मी मित्र, डाक्टर, व्यवस्थापन र परिवारबाट राम्रो सहायता थियो । मेरो निम्ति धेरैले प्रार्थना गरिरहनु भएको थियो । र यो सबै कुराहरूले मलाई उर्जा मिल्थ्यो ।

(लेखक सम्झना लामा आनन्दवन अस्पतालमा कार्यरत हुनुहुन्छ । पेशा उहाँ नर्स हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्