
चितवन :नेपालका निकुञ्ज तथा वन क्षेत्रमा यो वर्ष गैँडा गणना नहुने भएको छ । सन् २०१५ मा गैँडा गणना गरिएको थियो । यस वर्ष गणना गर्ने भनिएको भए पनि बजेट अभावका कारण गणना नहुने भएको हो ।
हरेक चारदेखि पाँच वर्षमा गैँडा गणना गर्ने गरिन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले बजेटको अभावमा यस वर्ष गैँडा गणना नगरिएको बताए । उनले भने, “तयारी पुगेन । बजेट पनि भएन ।” विभागले दाताको भर परेको भए पनि आवश्यक बजेट नपाएपछि गणना नगरिएको हो ।
खड्काका अनुसार गैँडा कार्ययोजनामा चारदेखि पांँच वर्षमा गैँडा गणना गर्नुपर्ने भनिएको हुंँदा आउंँदो वर्षको सरकारी बजेटमा रकम विनियोजन गरेर पांँचौँ वर्ष सन् २०१९ मा गैँडा गणना गर्ने तयारी गरिएको छ । मन्त्रालयले अर्को वर्ष गणनाका लागि बजेट विनियोजन गर्ने उनको भनाई छ ।
नेपालमा सन् १९९४ पछि सन् २०००, २००५, २००८, २०११ र २०१५ मा गैँडा गणना गरिएको थियो । सन् २०१५ मा भएको गणनामा चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी ६०५ गैँडा देखिएका थिए । पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसहित ६४५ गैँडा रहेका थिए ।
सन् २०१५ को गणनापछि बर्दिया र शुक्लाफाँटामा चितवनका गैँडा स्थानान्तरण गरिएको थियो । पछिल्ला वर्षमा शिकारीले गैँडा मार्न नपाए पनि प्राकृतिक कारणले धेरै गैँडा मरेका छन् । चालू आर्थिक वर्षमा निकुञ्जमा ४१ गैँडा प्राकृतिक कारणले मरेका छन् । कतिपय गैँडा निकुञ्जको भित्री भागमा मरेको भए पनि पत्ता लाग्दैन ।