चाडपर्व मनाउन मापदण्ड जारी, सार्वजनिक स्थालमा नथुक्न अनुरोध



काठमाडौं : सरकारले चाडपर्व मनाउनका लागि मापदण्ड जारी गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (शनिबार) नियमित प्रेस ब्रिफिङका क्रममा चाडपर्व मनाउनका लागि मापण्ड सार्वजनिक गरेको हो ।

सरकारले जारी गरेको मापण्ड पालना नगर्ने व्यक्तिलाई संक्रमण रोग ऐन, २०२० अन्तरगत कारबाही गर्ने मन्त्रालयले जनाएको छ । दशैं तथा अन्य जात्रा तथा पर्वमा प्रसाद तथा टीका सकेसम्म वितरण नगर्न मन्त्रालयले अनुरोध गरेको छ ।

टीका तथा प्रसाद वितरण गर्नपरेमा परिवारको एक जना मात्रै सहभागी हुनुपर्ने, सकेसम्म आयोजकले घरमै प्रसाद वितरण गर्नुपर्ने मन्त्रालयको भनाइ छ । एउटै घरका व्यक्तिबाहेक अरुसँग भेट नगर्ने र गर्नै परे दुई मिटरको दूरी कायम गर्नुपर्ने पनि मन्त्रालयले भनेको छ ।

सकेसम्म घरको परिवार मात्रै बसेर चाडपर्व माउन आग्रह गरिएको छ । चाडपर्वमा घर बाहिर नजाने र जानै पर्ने भए माक्स अनिवार्य लगाउनुपर्ने छ । धार्मिकस्थल तथा मेलापर्वमा २५ जना मात्रै भेला हुन पाउने तथा अभिबादन गर्दा टाढैबाट नमस्कार गर्नुपर्ने, अंगालो मार्न वा शरीर छुन पाइने छैन । देवीदेवताका मूर्तिहरु नछुन आग्रह गर्दै मन्त्रालयले सार्वजनिक स्थालमा नथुक्नसमेत भनेको छ ।

पैसाको कारोबार गर्दा सकेसम्म विद्युतीय माध्यमको प्रयोग गर्नुपर्ने मापदण्डमा उल्लेख छ । कोरोनाको अति जोखिममा पर्ने व्यक्तिहरुले घरपरिवारका व्यक्तिबाहेक अन्य बाहिरका व्यक्ति भेला भएको ठाउँमा सहभागि नहुन भनेको स्वास्थ्य मन्त्रालयले ज्वरो, खोकी लागेका व्यक्ति, ६० वर्ष माथि र १२ वर्ष मुनिका बालबालिका, गर्भवती र सुत्करी महिला र रोधप्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरुलाई कुनै पनि कार्यक्रमा सहभागी नहुन वा सहभागी भए कार्यक्रम आयोजकले पर्याप्त स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनु पर्नेमा जोड दिएको छ ।

भर्खरै सर्जरी गरेका, अंग प्रत्यारोपण गरेका तथा दीर्घरोगीहरु तथा पछिल्लो १५ दिनमा कुनै पनि रोगबाट निको भएका व्यक्तिहरुलाई भीडभाडमा जनानसमेत मन्त्रालयले अनुरोध गरेको छ ।

प्रकाशित : २४ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्