देशको विविधताको परिचायक जसपा नेपाल : महन्थ ठाकुर



काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्ष महन्थ ठाकुरले पार्टी निर्माण प्रक्रियामा रहेको बताएका छन् ।

अध्यक्ष ठाकुरले आज (शनिबार) थारु अधिकारकर्मी, बुद्धिजिबी, संघर्षसिल मोर्चासँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको सामाजिक बनोटको विविधता झल्किने गरी पार्टीको संरचना तयारी गरेको बताएका छन् ।

आफ्नो पार्टीमा सबै समुदायलाई आबद्ध हुन आवाहन गर्दै कसैले पनि पार्टीप्रति शंका उपशंका नगर्न अनुरोध गरे । जसपा पिडितहरुको पार्टी रहेको भन्दै पहाडमा आदिबासी जनजाति, दलित, महिला, अल्पसंख्यक, र तराईमा समग्र मधेश र थरुहट पिडित रहेको उनको भनाइ छ ।

‘हामीसँगै संघर्ष गरेर लोकतन्त्र ल्यायौं र अबसँगै मिलेर आधुनिक समाजको रुपमा नेपाललाई रुपान्तरित गर्नुपर्छ, समानता, सामाजिक न्याय, आर्थिक उन्नति एवं समान अवसरको लागि कार्य गर्नुपर्ने भएको छ, थरुहट र मधेश भावनात्मक रुपमा एक रहेको कुरा बिगतको हाम्रो एकताले नै प्रमाणित गरेको छ । सांसद रेशम चौधरीलाई जसपाले बिर्सेको छैन । हरेक बैठकमा हामीले उहाँको लागि आवाज उठाई रहेका छौँ, व्यक्तिगत भेटघाटमा प्रधानमन्त्रीले उहाँ निर्दोष रहेको बताउ छन् । तर कानुनको परिबन्धमा पारेर राज्य निरंकुशताको परिचय दिँदैछ, हाम्रो मन्त्री, सांसदहरुमाथि मुद्दा लगाइएको छ । राज्य एकात्मक र केन्द्रीकृत हुँदै गएको छ तसर्थ हामी पिडितहरुकोबीच एकताको विकल्प नरहेको दोहर्याउन चाहन्छु’-अध्यक्ष ठाकुरले भने ।

वरिष्ट नेता तथा सांसद राजेन्द्र महतोले कार्यक्रमको संयोजन गरेका थिए । कार्यक्रममा बरिस्ठ नेता एवं पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई, नेता अशोक राईको उपस्थिति रहेको थियो ।

प्रकाशित : २४ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्