आरोहणका लागि ६१६ जनाले पाए अनुमति



सोलुखुम्बु : देशका विभिन्न हिमाल आरोहणका लागि ७० समूहका ६१६ आरोहीले आरोहण अनुमति पाएका छन् । सगरमाथासहित २० हिमाल आरोहणका लागि नेपालसहित ४२ राष्ट्रका आरोहीले अनुमति पाएको पर्यटन बोर्डले जनाएको छ ।     

     

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि १२ नेपालीसहित ३०० ले अनुमति लिएका छन् । पर्यटन विभागले दिएको जानकारीअनुसार बुधबारसम्म ३० समूहका ३०० जनाले सगरमाथा आरोहण अनुमति लिएका हुन् । आरोहण अनुमति लिनेमा नेपालसहित ४२ राष्ट्रका २५१ पुरुष र ४९ महिला रहेका छन् । सोमा नेपाली महिला छ र पुरुष छ जना छन् ।     

     

सगरमाथाको शिखर जानेमा सबैभन्दा धेरै भारतका ५८ पुरुष र नौ महिला गरी ६७ पर्वतारोही रहेका पर्यटन बोर्डका नायब सुब्बा रामेश्वर निरौलाले जानकारी दिए । उनका अनुसार अमेरिकाका ५९ पुरुष र चार महिलासहित ६३, चीनका ३० पुरुष र १० महिलासहित ४० र बेलायतका ३६ पुरुष र तीन महिलासहित ३९ जना पर्वतारोहीले सगरमाथा चढ्ने अनुमति पाएका छन् ।     

     

 नर्वेका चार पुरुष र तीन महिलासहित सात, जापानका चार पुरुष र दुई महिलासहित छ, हङकङ र अर्जेन्टिनाका चार–चार जना पुरुषसहितले सगरमाथा आरोहणका लागि अनुमति पाएका छन् । विभिन्न कीर्तिमानी कायम गर्ने उद्देश्यले सगरमाथा आरोहण गर्ने गरिएको छ ।     

     

यस्तै आठ हजार ५१६ मिटर उचाइको लोत्सेका लागि सात समूहका ६६, छ हजार ८१४ मिटर उचाइको आमादब्लम हिमाल आरोहणका लागि चार समूहका ४१, सात हजार ८६१ मिटर उचाइको नुप्त्से हिमाल आरोहणका लागि दुई समूहका २७ र आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण हिमाल आरोहणका लागि तीन समूहका २३ आरोहीले अनुमति पाएका पर्यटन बोर्डले जनाएको छ । यस्तै आठ हजार ४६३ मिटर उचाइको मकालु हिमाल आरोहणका लागि चार समूहका ५३ ले अनुमति लिएका नायब सुब्बा निरौलाले जानकारी दिए ।     

     

करिब रु ४० करोड राजश्व सङ्कलन     

     

सगरमाथासहित देशका २० हिमाल आरोहण गर्ने आरोहीबाट बुधबारसम्म रु ३९ करोड १५ लाख ४४ हजार १४५ राजश्व सङ्कलन गरिएको छ । सबैभन्दा धेरै सगरमाथा आरोहीबाट रु ३४ करोड ८३ लाख ७२ हजार २१२ सलामी दस्तुर सङ्कलन भएको विभागले जनाएको छ ।     

     

सगरमाथा आरोहण गर्न अनुमति लिएका विदेशी आरोहीबाट प्रतिआरोही ११ हजार डलरका दरले रु ३४ करोड ७४ लाख ७२ हजार २१२ राजश्व सङ्कलन भएको छ । त्यस्तै नेपाली आरोहीबाट रु ७५ हजारका दरले रु नौ लाख राजश्व सङ्कलन भएको पर्यटन विभागका नायब सुब्बा निरौलाले जानकारी दिए ।     

     

बोर्डको तथ्याङ्कअनुसार देशका विभिन्न हिमाल आरोहरणका लागि अनुमति लिएका आरोहीबाट जम्मा रु ३९ करोड १५ लाख ४४ हजार १४५ रोयल्टी जम्मा भएको छ । नेपालका विभिन्न क्षेत्रमा रहेका २० हिमाल आरोण गर्ने ७० समूहका ६१६ आरोहीबाट उक्त राजश्व सङ्कलन भएको हो ।     

प्रतिक्रिया दिनुहोस्