सालक जोगाउनै मुस्किल



दोलखा : बढ्दो चोरीसिकारका कारण दुर्लभ वन्यजन्तु सालक जोगाउन मुस्किल पर्दै जान थालेको छ। तस्करीमा संलग्नहरूले दोलखाका विभिन्न ठाउँमा पुगेर खबटा र छालाका लागि सालक खोजीखोजी मार्न थालेपछि त्यस्तो अवस्था आएको प्रहरीको भनाइ छ। प्रहरीले चार महिनाको अवधिमा दोलखाबाट मात्रै नौ किलोभन्दा बढी खबटा बरामद गरिसकेको छ।

सोमबार मात्रै जिल्लाको उत्तरी क्षेत्र बाबरेबाट सशस्त्र प्रहरीको टोलीले चार केजी सालकको खबटा बरामद गरेको थियो। यसअघि गत मंसिर र पुसमा बेच्न लैजाँदै गरेको अवस्थामा सालकको पाँच केजी खबटा नेपाल प्रहरीले बरामद गरेको थियो। दोलखाका उत्तरी र पूर्वी भेगहरूबाट यसको बढी चोरीसिकारी भइरहेको प्रहरीको भनाइ छ।

गाउँगाउँममारेर छाला र खबटा राजधानी काठमाडौं लैजान गाउँमा गिरोह नै सक्रिय रहेको आशंका प्रहरीको छ। सालकका छाला र खबटा चीनमा समेत तस्करी हुने गरेको जानकारहरू बताउँछन्।

नेपाल र सशस्त्र प्रहरी टोलीले चार महिनाको अवधिमा खबटा बरामद गरेका घटनाहरूको अनुसन्धानको प्रकृति हेर्दा राजधानीदेखि जिल्लासम्म गिरोहको सञ्जाल फैलिएको देखिन्छ। तर प्रायः त्यस्ता घटनामा सचेतता अपनाइने भएका कारण गिरोहका सदस्य पक्राउ नै पर्दैनन्। आफू सम्पर्कमा नजाने र भरियालाई प्रयोग गर्ने भएका कारण उनीहरू पक्राउ नपर्ने गरेको प्रहरी अधिकारीहरू बताउँछन्।

सशस्त्र प्रहरी बल १८ नम्बर गुल्म चरिकोटले सालक तस्करी बढिरहेको सूचनाका आधारमा तीन महिना लगाएर गरेको अनुसन्धानपछि सोमबार बाबरेबाट खबटा बरामद गरेको थियो। सशस्त्रको टोलीले ग्राहक बनेर १० केजी ‘डिल’ गर्दा त्यसमा संलग्न व्यक्तिले चार केजी मात्रै रहेको र बाँकी पछि दिने भन्दै सामान लिन सोमबार राति बाबरेको पृथ्वीबजार बोलाएका थिए।

रातको समय भएको र गाउँको अप्ठ्यारो भूगोल रहेका कारण यसमा संलग्न कारोबारी उम्किएको सशस्त्र प्रहरीका गुल्मपति डिएसपी किरणकुमार कठायतले जानकारी दिए। उनले यसमा संलग्न व्यक्ति भागे पनि उनको पहिचान भइसकेकाले जसरी पनि समातिने विश्वास व्यक्त गरे।

सशस्त्र स्रोतका अनुसार उक्त सालकको खबटा विगु र गौरीशंकर गाउँपालिकाका विभिन्न क्षेत्रमा मारेर अन्यत्र तस्करी गर्न तयार पारिएको थियो। यी गाउँपालिका गौरीशंकर संरक्षण क्षेत्रमा पर्छन्।

संरक्षण क्षेत्रका प्रमुख सत्यनारायण शाहले भने आफ्नो क्षेत्रमा सालक कम मात्र पाइने कारण तस्करी हुनै नसक्ने दाबी गरे। ‘हाम्रो संरक्षण क्षेत्रमा दोलखा पटी लादुक र सिन्धुपाल्चोकतर्फ फुल्पिङकटीमा मात्र सालक पाइन्छ,’ उनले भने, ‘त्यति ठूलो मात्रामा हाम्रो क्षेत्रभित्रबाट मात्रै तस्करी हुनै सक्दैन’।

प्रतिक्रिया दिनुहोस्