महिला फुटबल टोली स्वदेश फर्कदै



काठमाडौं : म्यानमारमा सम्पन्न ओलम्पिक महिला फुटबलका लागि दोस्रो चरणको छनोटमा सहभागिता जनाएर नेपाली राष्ट्रिय महिला फुटबल टोली बिहिबार (आज) स्वदेश फर्कदै छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता किरण राईले नेपाली टोली बिहीबार अपरान्ह स्वदेश फर्कने बताए।

नेपाली टोली अपरान्ह २ः३० बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको छ। दोस्रो चरणको छनोटमा समूह ‘ए’ मा रहेको नेपालले तेस्रो स्थानमा रहेर प्रतियोगिता सकाएको थियो। छनोटबाट आयोजक म्यानमार तेस्रो चरणमा छनोट भएको थियो।

नेपालले छनोटमा दुई खेलमा हार व्यहोर्दा एक खेलमा जित निकालेको थियो। नेपालले छनोटमा ३ अंक जोडेको थियो। नेपालले लिग चरणको अन्तिम खेलमा इण्डोनेसियालाई २–१ ले पराजित गरेको थियो। नेपालको जितमा दुवै गोल सावित्रा भण्डारीले गरेकी थिइन्।

पहिलो खेलमा नेपाल आयोजक म्यानमारसँग ३–१ गोल अन्तरले पराजित भएको थियो। यस्तै दोस्रो खेलमा नेपाल चिरपरिचित भारतसँग पनि ३–१ ले नै पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्