‘मौरी पासो’ : पहरामा लहरै मौरीघार



बागलुङ काठेखोला गाउँपालिका–७ रेश, साँघुखोला पुग्दा दायाँपट्टि पहरामा लहरै मौरीघार देखिन्छन्। यति अफ्ठ्यारो भिर छिचोलेर कसले, किन राखे होला? झट्ट जो कोहीको मनमा प्रश्न उब्जन्छ। तर रेशका मौरीपालक किसानलाई भने यो कुरा नौलो नभइ उनीहरू यसलाई परम्परागत ‘मौरी पासो’ का रूपमा लिन्छन्। घरबाट भागेका र रनवन डुल्ने मौरीलाई ‘छोप्न’ भिरमा घार लगेर राख्ने गरिएको किसान बताउँछन्।

मौरी गर्मीमा घार छोडेर वनतिर जाने र जाडोमा वनबाट तलतिर झर्ने गर्छन्। हावापानीअनुसार मौरीको स्वभाव चिनेपछि किसानले भिरमा घार राख्न थालेका हुन्।

‘यो चलन हाम्रा बाउबाजेकै पालादेखिको हो,’ मौरीपालक किसान जीवन गौतमले भने।

गर्मी छल्न घारबाट छुट्टिने र अन्य जीवजन्तुको आक्रमणबाट बच्न भागेका मौरीलाई छोप्न ‘मौरी पासो’ विधि प्रभावकारी बनेको उनको भनाइ छ।

‘रित्तो मुढेघार भिरमा लगेर राख्छौं,’ गौतमले भने, ‘मौरी आएर बसेपछि घारसँगै घर ल्याउँछौं।’

एकै ठाउँमा धेरै घार राखिए पनि मौरीले रोजेर बस्ने र त्यसरी बसेको घारलाई लामो समयसम्म नछोड्ने गरेको बताइन्छ। बस्तीदेखि परको भिरमा राखिएका परम्परागत मुढेघारमा घारबाट छुट्टिएका र जङ्गलतिरबाट झरेका मौरी बस्ने गरेका छन्।

प्राकृतिक रूपमा मौरीको बसोबास भएको र बढी घुम्ने ठाउँको पहिचान गरी ‘मौरी पासो’ थाप्ने गरिएको अर्का मौरीपालक किसान युवराज गौतमले बताए।

गर्मीयाम सुरू भएपछि अहिले साँघुखोला र डोहोटाको भीरमा थुप्रै घार राखिएको छ। असोज, कात्तिकमा लेकबाट बेँशीतिर झर्ने मौरीलाई घारमा ल्याउन पनि सोही विधि अपनाउने गरिन्छ।

घार लगेर भिरमा राखेको साता, दस दिनमा मौरी आएर बस्ने गरेका छन्। मौरी बसेपछि किसानले घारलाई जतनसाथ नहल्लाइकन घरमा ल्याएर राख्ने गर्छन्।

रेश गाउँका झण्डै ५० घरपरिवारले परम्परागत रूपमा मौरीपालन गर्दै आएका छन्।

किसानले उत्पादन गरेको मह प्रतिकिलो रु एक हजारमा विक्री हुने गरेको छ। महको माग अत्यधिक भएकाले मौरीपालन व्यवसाय फस्टाउने देखिन्छ। मौरीपालन व्यवसायलाई व्यवसायिक बनाउन प्रविधि र लगानीमा सहयोग गरिने वडाध्यक्ष प्रेम लामिछानेले बताए।

‘केही किसानले आधुनिक घारमा मौरीपालन सुरू गर्नुभएको छ,’ उनले भने, ‘परम्परागत सीप र प्रविधिलाई आधुनिकीकरण गर्न आवश्यक छ।’

गण्डकी प्रदेश सरकारको ५० प्रतिशत अनुदानमा एक सय आधुनिक घार रेशका किसानलाई वितरण गर्ने तयारीमा वडा कार्यालय छ ।

प्रतिक्रिया दिनुहोस्