कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले प्रमुख सचेतक शाहलाई हटाए



काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपाल कम्युनिस्ट पार्टीका प्रमुख सचेतक गुलावजंग शाहलाई हटाएका छन् ।

प्रमुख सचेतक शाहलाई हटाएर सीताकुमारी नेपालीलाई नियुक्त गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव बिसीले जानकारी दिए । शाहले आफूलाई निरन्तर असहयोग गरेको भन्ने भएपछि मुख्यमन्त्रीले हटाएको बिसीले जानकारी दिए ।

मुख्यमन्त्री शाहीका विरुद्ध १८ जना प्रदेश सभा सांसदले अविश्वास प्रस्ताव ल्याएपछि पार्टीमा तिक्तता बढेको छ । सन्तोषजनक काम गर्न नसकेको भन्दै शाहलाई हटाइएको बताइएको छ ।

शाहीका विरुद्ध एमाले समूहबाट १५ जना उभिएका छन् भने माओवादी समूहबाट तीन जना छन् । प्रदेश सभाका कूल ४० जनामध्ये नेकपाका मात्रै ३३ जना छन् ।

प्रकाशित : २६ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्