मुख्यमन्त्री शाहीविरुद्ध हस्ताक्षर फिर्ता गराउन तीव्र गृहकार्य



काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्तावमा फिर्ता गराउने प्रयास सुरु भएको छ ।

शाहीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने आफू पक्षीय प्रदेशसभा सदस्यलाई प्रस्तावमा फिर्ता गराउ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपालले गृहकार्य अगाडि बढाएका हुन् । यस्तै दलका नेतामाथि अविश्वास प्रस्ताव पेस भएपछि सोमबार दिनभर सुर्खेतमा गुटगत छलफल चले ।

आइतबार अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरू आ–आफ्नो समूहको बैठकमा व्यस्त थिए । पार्टीका प्रदेश कमिटी सचिव मायाप्रसाद शर्माले दुवै पक्षलाई एक ठाउँमा राख्ने प्रयास भए पनि सम्भव नभएको बताए । पार्टी केन्द्रसँग पनि समन्वय गरेर संसदीय दलमा देखिएको विवाद समाधान गर्ने उनको भनाइ छ ।

त्यसका लागि केन्द्रीय सदस्य निरज आचार्यलाई सुर्खेत पठाइएको छ । नेकपाका नेताहरूका अनुसार सुर्खेत पुगेका आचार्यले नेताहरू भेटघाट र छलफल अगाडि बढाएका छन् ।

त्यसले गर्दा शाहीइतर समूहले २७ असोज दिउँसो १ बजेका लागि बोलाएको संसदीय दलको बैठक पनि अन्यौलमा परेको छ । नेकपा स्रोतका अनुसार मुख्यमन्त्री शाहीविरुद्ध हस्ताक्षर गरेका १८ जनामध्ये पूर्वमाओवादी धारका तीन जनाले हस्ताक्षर गरेका छन् ।

ती तीनमध्ये पुष्पा घर्ती विष्ट र ठम्मरबहादुर विष्टको हस्ताक्षर फिर्ता हुने संभावना रहेको नेकपाको बुझाइ छ । धर्मराज रेग्मीले भने अझै पनि अटेर गरिरहेका छन् ।

यता, माधव नेपाल समूहबाट हस्ताक्षर गर्ने सात जनामध्ये पाँच जना हस्ताक्षर फिर्ता लिने तयारीमा छन् । नेपाल पक्षमा चन्द्रबहादुर शाही र करवीर शाही भने अझै पनि फिर्ता लिन मानिरहेका छैनन् ।

चन्द्रबहादुर शाही एक वर्ष पहिला नै मन्त्रीको लागि प्रयास गरिरहेका थिए । त्यतिबेला मन्त्री हुन नपाएपछि पार्टीबाटै राजीनामा दिएका थिए । तर, अध्यक्ष केपी ओली, प्रचण्ड र नेता माधव नेपालले शाहीलाई राजीनमा फिर्ता गराएका थिए ।

नेपाल समूहले त्यसका लागि केन्द्रीय सदस्य नीरज आचार्यलाई सुर्खेत पठाएको छ । बिहान प्रचण्डसँगको भेटमा पनि नेपालले आचार्यलाई खुमलटार लगेका थिए । बिहान प्रचण्डको छलफललगत्तै आचार्यलाई सुर्खेत पठाएको नेकपा स्रोतको दाबी छ ।

अहिले साँझ आचार्यसहित नेपाल समूहका नेता तथा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, मुख्यमन्त्री शाही अनि नेकपाका सुर्खेत अध्यक्ष धुव्र शाहीबीच छलफल भइरहेको नेकपा एक प्रदेश सदस्यले जानकारी दिए ।

पूर्वमाओवादी सांसदकै कारण पार्टी एकतामा खलल पुग्ने काम नगर्न उनले सचेत गराएको उनीनिकट स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्