जग्गा हेर्ने बहानामा हत्या गर्ने ३ जना पक्राउ



काठमाडौं : २१ असोजमा जग्गा हेर्ने बहानामा लुटपाट गरेर हत्या गरेको आरोपमा महानगरीय अपराध महाशाखा भक्तपुरको टोलीले ३ जनालाई पक्राउ गरेको छ ।

जग्गाको कारोबार गर्दै आएका भक्तपुरको चाँगुनारायण नगरपालिका-८ सुडालका ६१ वर्षीय चन्द्रबहादुर योञ्जन लामाको हत्या भएको थियो । हत्याको आरोपमा सिन्धुपाल्चोकका ३७ वर्षीय कामी शेर्पा, २३ वर्षीय रमेश तामाङ र २७ वर्षीय प्रेम तामाङ पक्राउ परेका छन् ।

कुटपिटपछि उनको साथमा रहेको सुनको ब्रासलेट र मोबाइल लिएर दुवै जना फरार थिए । कुटपिटबाट गम्भीर घाइते भएका चन्द्रबहादुरको उपचारका क्रममा २२ असोजमा ग्रिनसिटी अस्पतालमा मृत्यु भएको थियो ।

मुख्य योजनाकार कामी शेर्पाले चन्द्रबहादुरसँग करिब १६ लाख रुपैयाँ लिनुपर्ने भएकाले धम्की दिएर असुली गर्न भन्दै रमेश र प्रेम तामाङलाई परिचालन गरेको प्रहरीको भनाइ छ ।

प्रकाशित :२७ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्