वार्ताको माध्यमबाट समाधान खोज्न राजपालाई संचारमन्त्रीको आग्रह



जनकपुरधाम : सरकारका प्रवक्ता एवं सुचना तथा संचारमन्त्री गोकुल बास्कोटाले राष्ट्रिय जनता पार्टी नेपाललाई वार्ताको माध्यमबाट सामाधान खोज्न आग्रह गरेका छन्।

नेपाल टेलिकमको एक कार्यक्रममा सहभागि हुन जनकपुर आएका मन्त्री बास्कोटाले जनकपुरधाम विमानस्थलमा संचारकर्मीसंग कुरा गर्दै सरकारविरुद्ध आन्दोलनका घोषणा गरेको राजपालाई आन्दोलनबाट होइन, वार्ताबाट समाधान खोज्न आग्रह गरेका हुन्।

‘राजपाको उचित माग सरकारले सम्बोधन गर्नेछ। तर, अदालतको मुद्दामा हामी केही गर्न सक्दैनौ’, बास्कोटाले भने,‘अदालतको छुट्टै मर्यादा भएकोले त्यसमा सरकारले केही गर्न मिल्दैन्। त्यस्तैले अदालती प्रक्रिया बाहेकका माग बार्ताको माध्यमबाट सम्बोधन गरिनेछ।’

जन्मसिद्ध नागरिकका सन्तानलाई सर्वाेच्च अदालतले रोक लगाएको संचारकर्मीको जिज्ञासामा मन्त्री बास्कोटाले कुनै पनि नेपाली नागरिकलाई नागरिकताबाट वञ्चित गरिँदैन कानुन बनाएर त्यसलाई व्यवस्थापन गर्ने बताए। उनले प्रदेश सरकारलाई अधिकार हस्तान्तरण नगरिएको कुरामा भने संघीय सरकारले सबै अधिकार दिने प्रक्रियामा छ। तर, नयाँ अभ्यास भएकोले केही समय लाग्ने बताए।

प्रतिक्रिया दिनुहोस्