दशैँ र तिहारका लागि नोट वितरण शुरु



मकवानपुर : दशैँ र तिहारका लागि भन्दै मकवानपुरको हेटौंडालगायत विभिन्न ठाउँमा आजदेखि पुरानो नोट वितरण शुरु गरिएको छ ।

सरकारी स्वामित्वको र निजी क्षेत्रबाट संचालित बैंकले सर्वसाधारण र कर्मचारीलाई आवश्यकता अनुसार विभिन्न दरको पुरानो नोट आजदेखि वितरण शुरु गरिएको नेपाल राष्ट्र बैंक हेटौंडाले जनाएको छ ।

कोभिड-१९ संक्रमणको उच्च जोखिमलाई न्यूनीकरण गर्न नेपाल राष्ट्र बैंकले सदाझै यस वर्षको बडादशैं र तिहारमा नयाँ नोट वितरण नगर्ने भनी विज्ञप्ति प्रकाशित गरिएकोले सर्वसाधारणलाई नयाँ नोटको अभाव खड्किएको छ ।

यहाँका उद्यमी, शिक्षक निजामति कर्मचारी, प्रहरी, नेपाली सेना र सर्वसाधारण सेवाग्राहीलाई उहाँहरुको माग बमोजिम नच्यातिएको पुरानो नोट वितरण शुरु गरिएको राष्ट्रिय वाणिज्य बैंक हेटौंडा शाखाका प्रबन्धक हेमराज मरहठ्ठाले जानकारी दिनुभयो ।उहाँका अनुसार बैंकले सेवाग्राहीको माग बमोजिम १ हजार ५ सय १ सय, ५०, २०, १०, ५,२ दरका पुरानो नोट वितरण गरिरहेको छ ।

मकवानपुरमा नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक र निजी क्षेत्रबाट सञ्चालित विभिन्न बैंक गरी २८ वटा बैंकले अहिले दिनहु २५ करोड बराबरको दैनिक रकम सर्वसाधारण र कर्मचारीले भुक्तानी लिने गरेको नेपाल बैंक सिटी आफिस हेटौंडाका प्रबन्धक सुरेश लामिछानेले बताए ।

पुराना च्यातिएका नोटलाई अलग राखी नच्यातिएका सफा नोटलाई प्याकिङ गरी वितरण गरिएको र ती नोट वितरण गर्न लाइनबद्ध गरी भीडभाड नगरिने र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई सर्वसाधारणलाई वितरण गर्ने कार्यलाई तीव्रता दिइएको पनि नेपाल बैँकका प्रबन्ध लामिछानेले बताए । रासस

प्रकाशित : २८ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्