हुरीले कृषि र पशुपन्छीमा ५१ करोड क्षति



काठमाडौं : बारा र पर्सामा आएको हुरीबाट कृषि र पशुपन्छी क्षेत्रमा करिब ५१ करोड क्षति भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बिहीबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार कृषि र पशुपन्छी क्षेत्रमा ५० करोड ७९ लाख ३२ हजार सात सय रुपैयाँ क्षति भएको छ।

मन्त्रालयका वरिष्ठ कृषि अर्थ विज्ञ तथा उपसचिव गंगा आचार्यले चैत १७ गते आएको हुरीबाट कृषितर्फ ५० करोड तीन लाख ४९ हजार सात सय र पशुपन्छीतर्फ ७५ लाख ८३ हजार रुपैयाँबराबरको क्षति भएको हो। क्षतिको अध्ययन गर्न स्थानीय कृषि ज्ञान केन्द्रलाई परिचालन गरिएको थियो। हुरीका कारण सयौं बासिन्दाको कृषि र पशुपन्छी पेसा नै गुमेको छ।

हुरीबाट बारा र पर्साका १० वटा स्थानीय तहका २२ वटा वडामा क्षति भएको थियो। यसअनुसार बाराको कलैया उपमहानगरपालिका वडा १२ र १८, फेटा गाउँपालिकाका वडा १, ६ र ७, सुवर्ण गाउँपालिकाका वडा १, ४, ५ र ८, प्रसौंनी गाउँपालिकाको वडा ४ र महागढीमाई नगरपालिका वडा ७ मा ठूलो क्षति पुगेको छन।

यसैगरी देवताल गाउँपालिको वडा ७, पचरौंता नगरपालिका वडा २ र ७ र परवानीपुर गाउँपालिका वडा ४ का किसानले कृषि तथा पशुपन्छीतर्फ क्षति व्यहोरेका छन्। यस्तै पर्साको वीरगन्ज महानगरपालिका वडा १८ र २२ तथा वौद्दारमाई नगरपालिकाको वडा ४मा क्षति भएको छ।।

मन्त्रालयको प्रतिवेदनअनुसार हुरीबाट बारामा ९ सय ३६ घर र पर्सामा एक सय २२ घर गरी एक हजार पाँच सय ५८ घर पूर्णरूपमा क्षति भएको छ। यस्तै बारामा ९ सय ५५ र पर्सामा तीन सय ८७ वटा घरमा आंशिक क्षति भएको छ। हुरीका कारण ११ जना महिला, १० पुरुष र ६ जना बालबालिकाले ज्यान गुमाएका थिए। आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।

प्रतिक्रिया दिनुहोस्